जिम्बाब्वेसँगको सिरिजका लागि भारतको टोली घोषणा, फेरि कप्तान परिवर्तन


काठमाडौं ।


यही १८ अगस्टदेखि सुरु हुने जिम्बाब्वेविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा भारतको कप्तानी केएल राहुललले गर्ने भएका छन् । भारतीय क्रिकेट कन्ट्रेल बोर्ड (बिसिसीआई) को मेडिकल टिमले खेल्न अनुमति दिएपछि जिम्बावेविरुद्ध राहुलले कप्तानी गर्ने भएका हुन् ।



यसअघि शिखर धावनलाई टोलीको कप्तान चयन गरिएको थियो । हर्नियाको शल्यक्रियापछि राहुलले वेस्ट इण्डिजको भ्रमण गर्ने अपेक्षा गरिएको थियो । तर, कोरोना संक्रमणका कारण उनले सो भ्रमण गुमाएका थिए ।


राहुलले दोस्रो पटक भारतीय टोलीको कप्तानी सम्हाल्न लागेका हुन् । राहुल कप्तान रहँदा टोलीको उपकप्तानमा भने धवन रहनेछन् । यही वर्ष दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज ३–० ले गुमाउँदा राहुलले भारतको कप्तानी सम्हालेका थिए ।
राहुलले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ पछि कुनै पनि प्रतिस्पर्धात्मक खेल खेलेका छैनन् । सिरिजअन्तर्गतको पहिलो खेल १८ अगस्टमा हरारे स्पोर्ट्स क्लबमा हुनेछ ।

जिम्बाब्वे सिरिजको लागि भारतको टोली : केएल राहुल (कप्तान) शिखर धवन (उपकप्तान), ऋतुराज गायकवाड, शुभमन गिल, दीपक हूडा, राहुल त्रिपाठी, ईशान किशन (विकेटकिपर), सञ्जु सामसन (विकेटकिपर), वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, कुलदीप यादव, अक्षर पटेल, आवेश खान, प्रसिद्ध कृष्णा, मोहम्मद सिराज र दीपक चाहर ।
विश्वकप लिग–२ मा यूएईविरुद्ध अमेरिका एक विकेटले विजयी
आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाले यूएईलाई एक विकेटले हराएको छ । गएराति सम्पन्न खेलमा यूएईले दिएको २५४ रनको लक्ष्य अमेरिकाले ४९.१ ओभरमा भेट्टायो ।
उसका लागि कप्तान मोनांक पटेलले उत्कृष्ट पारी खेले । ९८ बलको सामना गरेका उनले सात चौका र एक छक्कासहित सर्वाधिक ८५ रन बनाए । त्यस्तै, आरोन जोन्सले ६७ बलमा चार चौकाको सहयोगमा ५१ रन जोडे ।
इयान हल्याण्डले ३०, स्टिभन टेलरले २९, गजानन्द सिंहले अविजित २६ र सुशान्त मोदानीले १२ रनको योगदान दिए । यूएईका लागि जुनैद सिद्दिकी, रोहन मुस्तफाले दुई/दुई, जाहूर खान, बसिल हमीद र कप्तान अहमद राजाले एक/एक विकेट लिए ।
त्यसअघि स्कटल्याण्डको एबर्डीनस्थित मनोफिल्ड पार्क मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन बनायो । उसका लागि युवा ब्याटर आर्यन लाक्राले उत्कृष्ट पारी खेले । ११२ बलको सामना गरेका उनले ११ चौका र एक छक्कासहित ८४ रन बनाए ।
त्यस्तै, वृत्य अरविन्दले ८५ बलमा तीन चौका र एक छक्काको सहयोगमा ५३ रन जोडे । चुन्दगापोयल रिजवानले ३९, बसिल हमीदले २५, जवर फरिदले १६ र जुनैद सिद्दिकीले अविजित १२ रनको योगदान दिए । अमेरिकाका लागि सौरभ नेत्रावल्करले सर्वाधिक तीन विकेट लिए । यूएई २४ खेलबाट २६ अंक बनाउदै तेस्रो स्थानमा छ । २५ खेलमा २५ अंक बनाएको अमेरिका चौथो स्थानमा छ ।

