केरला वुमन्स लिगमा सावित्राआवद्ध गोकुलमको बाँकी म्याच कहिले?


काठमाडौं ।


नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी ‘साम्बा’ अहिले भारतमा छिन् । उनी केरला वुमन्स लिग खेल्नका लागि केही दिनअघि भारत गएकी थिइन् । सावित्राले लिगमा पहिलो खेल पनि खेलिसकेकी छन् ।



उनले पहिलो खेलमै शानदार प्रदर्शन गर्दै टोलीलाई फराकिलो जित दिलाइन् । गत बुधबार केरला युनाइटेडविरुद्ध सावित्रा एक्लैले पाँच गोल गरिन् । उनले पहिलो हाफमै चार गोल गरिन् । पूरा नखेलेकाले दोस्रो हाफमा सावित्राले एक गोल गरिन् ।


गोकुलम केरलाबाट लिग खेलिरहेकी सावित्रा केही समयअघि मात्र चोटबाट मुक्त भएकी थिइन् । उनले शानदार कमब्याक गर्दै समर्थकलाई मनोरञ्जन दिएकी छन् । सावित्राकै उत्कृष्ट प्रदर्शनमा पहिलो खेलमा गोकुलमले केरला युनाइटेडलाई ११–० ले हरायो । अब केही साता गोकुलमकाे टाेलीले आराम गर्नेछ ।
सावित्राआवद्ध गोकुलमले दोस्रो खेल ३ सेप्टेम्बरमा डन बोस्को एफएविरुद्ध खेल्नेछ । त्यसपछि तेस्रो खेलमा गोकुलमले ६ सेप्टेम्बरमा बास्को एफसीको सामना गर्नेछ । चौथो खेलमा गोकुलमको भेट इमेरिट्स एससीविरुद्ध हुनेछ । सो खेल ११ सेप्टेम्बरमा हुनेछ ।

साफ च्याम्पियनसिपको टिकट मूल्य तोकियो, यस्तो छ खेल तालिका
भदौमा काठमाडौंमा आयोजना हुन लागेको छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको टिकट मूल्य तोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबारको कार्यसमिति बैठकले साफको टिकट मूल्य तोकेको हो । महिला साफका लागि सामान्य र भिआइपी गरी टिकट मुख्य निर्धारण गरिएको एन्फाले जनाएको छ ।
जसअनुसार महिला साफमा सामान्य प्यारापिटतर्फको टिकट मूल्य ३ सय र भिआइपीतर्फको टिकट मूल्य ५ सय रुपैयाँ तोकिएको हो । आसन्न संस्करणको महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशामा आयोजना हुँदैछ ।
साफमा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसहित श्रीलंका र भुटान छन् । समूह ‘ए’ मा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । अघिल्लो संस्करणको महिला साफ पनि नेपालमै आयोजना भएको थियो । सन् २०१९ को १२ देखि २२ मार्चसम्म आयोजना भएको महिला साफ विराटनगरमा भएको प्रतियोगिताको उपाधि भारतले जित्दा नेपाल उपविजेता बनेको थियो ।
हालसम्म पाँच संस्करणकै उपाधि भारतले जितेको छ । चारपटक फाइनल पुगेको नेपाल चारै पटक भारतसँग पराजित हुँदै उपाधिबाट बञ्चित रहँदै आएको छ । प्रतियोगिताका लागि हाल नेपालको दोश्रो चरणको बन्द प्रशिक्षण जारी छ । टोलीका मुख्य प्रशिक्षक कुमार थापाको नेतृत्वा जारी दोश्रो चरणको बन्द प्रशिक्षणमा ३५ खेलाडी सहभागी छन् ।


