अफगानिस्तानले आयरल्याण्डलाई हरायो, राशिद लगातार तीन खेलमा विकेटविहीन

काठमाडौं ।

घरेलु टोली आयरल्याण्डविरुद्धको टी–२० सिरिजअन्तर्गत तेस्रो खेलमा अफगानिस्तान २२ रनले विजयी भएको छ । योसँगै पाँच खेलको सिरिज २–१ को अवस्थामा आएको छ । तेस्रो खेलमा १९० रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान जर्ज डकरेलले अविजित ५८ रनको अर्धशतकीय पारी खेले । उनले ३७ बलका ६ चौका र दुई छक्का प्रहार गरे । फिओन ह्यान्डले ३६, लोर्कन टकरले ३१ र ग्यारेथ डेनालीले १६ रन जोडे । अफगानिस्तानका लागि नवीन–उल–हकले तीन, फजलहक फारुकी र मुजीबउर रहमानले दुई/दुई तथा कप्तान मोहम्मद नाबीले एक विकेट लिए ।

स्टार स्पिनर राशिद खान भने यो खेलमा पनि विकेटविहीन रहे । उनले ४ ओभरमा बिनाविकेट ३८ रन दिए । राशदि विकेटविहीन भएको यो लगातार तेस्रो खेलमा हो । सिरिजको अघिल्लो दुई खेलमा पनि उनले विकेट हात पार्न सकेका थिएनन् ।

त्यसअघि बेलफास्टस्थित सिभिल सर्भिस क्रिकेट क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रन बनायो । उसका लागि रहमानुल्लाह गुर्बाजले ५३ रनको अर्धशतकीय पारी खेले । ३५ बलको सामना गरेका उनले आठ चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, नजिबुल्लाह जद्रानले आक्रामक पारी खेले । १९ बलको सामना गरेका उनले ४२ रन बनाए । हजरतुल्लाह जजाईंले ३९ र इब्राहिम जाद्रनले ३६ रन जोडे । आयरल्याण्डका लागि जोस लिटलले दुई, मार्क आदिरले र फिओन ह्यान्डले एक/एक विकेट हात पारे । अफगानिस्तान र आयरल्याण्डबीचको चौथो खेल सोमबार हुनेछ । यसअघि आयरल्याण्डले सात र पाँच विकेटको जित निकालेको थियो ।

Loading...