वेष्ट इण्डिजमाथि न्यूजिल्याण्डको फराकिलो जित, ग्लेन फिलिप्सले गरे छक्काको वर्षा

काठमाडौं ।

वेष्ट इण्डिजविरुद्धको टी–२० सिरिज न्यूजिल्याण्डले एक खेल अगावै जितेको छ । आज बिहान सम्पन्न खेलमा वेष्ट इण्डिजलाई ९० रनले हराउँदै पाहुना टोली न्यूजिल्याण्डले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो । वेष्ट इण्डिजले भने भारतपछि न्यूजिल्याण्डसँग पनि निकै खराब खेल्यो ।

सिरिजको दोस्रो खेलमा न्यूजिल्याण्डले दिएको २१६ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । उसका लागि ओवेद म्याक्योले अविजित २३, रोभम्यान पावेलले २१, रोमारियो सेफर्डले १८, शिमरोन हेटमायरले १४, जेसन होल्डरले ११ र हेडन वाल्सले अविजित १० रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । न्यूजिल्याण्डका लागि मिचेल सान्टनर, माइकल ब्रेसवेलले तीन/तीन, इश सोधी र टिम साउथीले एक/एक विकेट हात पारे । त्यसअघि जमैकाको सबिना पार्कमा टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१५ रन बनायो ।

उसका लागि ग्लेन फिलिप्सले शानदार ब्याटिङ गरे । ४१ बलको सामना गरेका उनले ६ छक्का र चार चौकासहित ७६ रन बनाए । त्यस्तै, डारियल मिचेलले ४८, डेभन कन्वेले ४२, मार्टिन गुप्टिलले २०, कप्तान केन विलियम्सनले चार, जेम्स नीशमले ९ र माइकल ब्रेसवेलले अविजित चार रन बनाए ।

वेष्ट इण्डिजका लागि ओबेद म्याक्योले तीन, ओडेन स्मिथ र रोमारियो सेफर्डले एक/एक विकेट लिए । यो जितसँगै तीन खेलको सिरिजमा पाहुना टोली न्यूजिल्याण्डले २–१ को अग्रता लिएको छ । पहिलो ऊ १३ रनले विजयी भएको थियो । न्यूजिल्याण्ड र वेष्ट इण्डिजबीचको तेस्रो टी–२० सोमबार हुनेछ ।

Loading...