माओवादी नेताहरूको पहलमा जोगबुढामा नापी तथा मालपोत कार्यालय स्थापना

डडेल्धुरा:

 

डडेल्धुराको परशुराम नगरपालिका–१२ जोगबुढामा नापी तथा मालपोत कार्यालय स्थापना भएको छ। नेकपा माओवादी केन्द्रका नेताहरूको पहलमा सरकारले जोगबुढामा नापी तथा मालपोत कार्यालय स्थापना गरेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र अर्थ मन्त्री जनार्दन शर्माले बजेट व्यवस्थापन गरिदिएपछि कार्यालय स्थापना भएको बताइएको छ। नापी तथा मालपोत जोगबुढाका लागि कार्यालय प्रमुखसमेत तोकिएको छ।

 

नापी विभागले नापी कार्यालय डोटीमा कार्यरत हरिश मल्ललाई जोगबुढाको कार्यालय प्रमुख तोकेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले प्रेमबहादुर धामीलाई मालपोत जोगबुढामा कार्यालय प्रमुखको रूपमा पठाएको छ।

यहाँ कार्यलय स्थापनाका लागि माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, राष्ट्रियसभाद्वय सदस्य जगत पार्की र महेशकुमार महरा, माओवादीका सुदूरपश्चिम समिति उपाध्यक्ष मानसिंह माललगायत नेताहरूले पहल गरेका थिए।


नेताहरूको निरन्तर प्रयासपछि जोगबुढामा कार्यालय स्थापना गर्न सफल भएको माओवादीका परशुराम नगरपालिकाका नगर कमिटी अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले बताए। ‘जोगबुढामा कार्यालय स्थापनाका लागि पटकपटक ज्ञापनपत्र बझुायौं,’ उनले भने, ‘यसपटक हाम्रै पार्टीबाट अर्थ र भूमि मन्त्री हुनुहुन्थ्यो। त्यसैले उहाँहरूले कार्यालय स्थापना गर्नका लागि बजेट र कर्मचारीको व्यवस्था गरिदिनुभयो।’ सबैको पहलमा यो ऐतिहासिक उपलब्धि हासिल भएको उनको भनाइ छ।

स्थानीयस्तरबाटै जग्गा सम्बन्धि हरेक कामकाज गराउन पाउने भएपछि भित्री मधेसवासी हर्षित भएका छन्। परशुराम नगरपालिका र आलिताल गाउँपालिका सेवाग्राहीहरूलाई अब सहज हुने भएको छ।

 

पहिले पहिले जग्गासम्बन्धि सानो–सानो कामकाजको लागि जिल्ला सदरमुकाम जानुपर्ने अवस्थाको अन्त्य भएको आलिताल गाउँपालिका–७ मेलगाँजाका स्थानीय केशव साउँदले बताए। उनले अब सदरमुकाम जानुपर्ने बाध्यता हट्ने बताउँदै उनले समय र पैसाको पनि बचत हुने बताए।

 

सदरमुकाम आउन आएर जग्गासम्बन्धि काम गर्न भित्रीमधेसका स्थानीय दुईदेखि तीन दिनम्म लाग्ने गर्दथ्यो। अब त्यो बाध्यता हट्ने भएको छ। जिल्लाकै आधाजति जनसंख्या भएको भित्रीमधेसमा नापी तथा मालपोत कार्यालय स्थापना हुनु भनेको नमुना एवं उदाहरणीय काम रहेको साउँदको भनाइ छ।

Loading...