इंग्ल्याण्डमा पुजाराको विस्फोटक शतक, यद्यपि टिम भने पराजित

काठमाडौं ।

भारतीय क्रिकेटर चेतेश्वर पुजाराले इंग्ल्याण्डको शानदार शतकीय पारी खेलेका छन् । उनले त्यहाँको लिष्ट ‘ए’ मान्यता प्राप्त रोयल लण्डन वान डे कपमा ससेक्सबाट खेल्दै वारविक्शायरविरुद्ध शानदारी पारी खेलेका हुन् । कप्तानसमेत रहेका पुजाराले ७९ बलमा सात चौका र दुई छक्कासहित १ सय ७ रन बनाए ।

उनले ७३ बलमा शतक पूरा गरेका थिए । पुजाराले ४५ औं ओभरमा तीन चौका र एक छक्कासहित २२ रन जोडे । यद्यपि पुजाराको शतकका बाबजुद ससेक्स ४ रनले पराजित हुन पुग्यो । ससेक्सको यो दोस्रो हार हो । उसले चारमध्ये दुई खेलमा भने जित हात पारेको छ । चाैथाे खेलमा ३ सय ११ रनको लक्ष्य पछ्याएको सक्सेसले ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६ रन बनायो ।

पुजाराको १०७ सहित ससेक्सका लागि अली ओररले ८१, टम क्लार्कले ३० र ह्यारिसन वर्डले २२ रन जोडे । वारविक्शायरका लागि कृणाल पाण्ड्याले तीन, जर्ज ग्यारेट र ओलीभर ह्यानन डाल्बीले दुईरदुई विकेट लिए ।त्यसअघि बर्मिंघममा टस जितेर ब्याटिङ रोजेको वारविक्शायरले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनायो । उसका रोब यट्सले शतकीय पारी खेले ।

१ सय ११ बलको सामना गरेका उनले १४ चौका र दुई छक्कासहित १११ रन बनाए । त्यस्तै, कप्तान विल रोड्सले ७६, माइकल बर्गेसले ५८, हम्जा शेखले २५ र म्याथ्यू ल्याम्बले अविजित १७ रन जोडे ।  कृणाल पाण्ड्या भन शून्यमै आउट भए । सक्सेसका लागि ब्राडली करी र एरिस्टाइड्स करवेलसीले दुई/दुई विकेट लिए ।

Loading...