तिजको समय नजिकिए सँगै यो साता नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो


काठमाण्डौ:


गत साताको शुक्रबारको तुलनामा यो साता सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो साताको शुक्रबारको तुलनामा यो साता सुनचाँदीकै मूल्य बढेको जनाएको हो ।



महासंघका अनुसार गत शुक्रबारदेखि यो शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ थियो ।


जुन, तोलामा ५०० रुपैयाँ बढेर यो साताको शुक्रबारसम्म आइपुग्दा ९७ हजार ३०० रुपैयाँ पुगेको हो । यस्तै, हिजो शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, गत साताको शुक्रबार तोलामा १ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य हिजोसम्म आइपुग्दा ५ रुपैयाँ बढेको छ । महासंघले यो साताको अन्तिम कारोबार दिन चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ कायम भएको जानकारी दिएको छ ।



