भारतीय टिमले पायो आक्रामक ब्याटर, ३१ वर्षको उमेरमा गर्दैछन् डेब्यू


काठमाडौं ।


भारतीय टोलीले १८ अगस्टदेखि जिम्बाब्वे भ्रमणमा तीन खेलको एकदिवसीय शृंखला खेल्दैछ । यो श्रृंखलाका लागि भारतीय टोली जिम्बाब्वे प्रस्थान गरिसकेको छ । यो सिरिजमा टोलीको कप्तानी केएल राहुलले गर्नेछन् ।



जिम्बाब्वे भ्रमणका लागि टोलीमा केही युवा खेलाडीलाई पनि समावेश गरिएको छ । साथै, ३१ वर्षीय विस्फोटक ब्याटर राहुल त्रिपाठीले पनि टोलीमा मौका पाएका छन् । उनले अहिलेसम्म डेब्यू गर्न पाएका छैनन् । जिम्बाब्वे भ्रमणमा त्रिपाठीको प्रतिक्षा समाप्त हुने सम्भावना छ । त्रिपाठी विगतमा पनि भारतीय टोलीमा पनि मौका पाएका थिए । तर, उनले प्लेइङ–११ मा स्थान बनाउन सकेनन् । भारतीय टोलीले हालै इङ्ल्यान्ड र आयरल्याण्डको भ्रमण गरेको थियो ।


त्रिपाठी यी दुवै भ्रमणमा भारतीय टोलीमा थिए । तर, उनले खेल्ने मौका पाएनन् । उनलाई आयरल्याण्ड विरुद्धको दुई टी–२० खेलका लागि पनि टोलीमा राखिएको थियो । त्रिपाठी आईपीएलमा ओपनिङ र तल्लो क्रममा ब्याटिङ गर्छन् । उनी आईपीएल २०२२ मा निकै सफल थिए । यस सिजनमा पनि उनले १४ खेलमा ४१४ रन बनाएका थिए ।
यही उत्कृष्ट प्रदर्शनका कारण उनलाई भारतीय टोलीमा स्थान दिइएको छ । त्रिपाठीले आईपीएलमा अहिलेसम्म ७६ खेल खेलेका छन् । जसमा उनले १७९८ रन बनाएका छन् । जिम्बाब्वे भ्रमण त्रिपाठीको करियरका लागि निकै महत्वपूर्ण हुनेछ ।

जिम्बाब्वेसँगको सिरिजका लागि भारतको टोली : केएल राहुल (कप्तान), शिखर धवन (उपकप्तान), ऋतुराज गायकवाड, शुभमन गिल, दीपक हुड्डा, राहुल त्रिपाठी, इशान किशन (विकेट), सञ्जु सैमसन (विकेट), वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, कुलदीप यादव, अक्षर पटेल, अवेश। खान, प्रसिद्ध कृष्ण, मोहम्मद सिराज र दीपक चाहर ।

