भारतीय लिगमा चम्किँदै दीपा न्यौपाने, उत्कृष्ट प्रदर्शन गर्दै दिलाइन् शानदार जित

काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य दीपा न्यौपानेसम्मिलित डन बस्कोले भारतमा जारी केरेला महिला लिगमा पहिलो जित हात पारेको छ । शनिबार भएको खेलमा डन बस्कोले एमिरेट्स एफसीलाई ५–२ ले हराउँदै लिगमा पहिलो जित निकालेको हो । डन बस्कोको जीतमा दीपा एक्लैले दुई गोल गरिन् । उनको यो डेब्यु म्याच हो ।

दीपा खेलको ‘प्लेयर अफ दि म्याच’ समेत घोषित भइन् । पहिलो खेलमा डन बस्को लर्ड्स एफएविरुद्ध १२–२ गोल अन्तरले पराजित भएको थियो । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी ‘साम्बा’ पनि अहिले भारतमा छिन् ।

उनी पनि केरला वुमन्स लिग खेल्नका लागि केही दिनअघि भारत गएकी थिइन् । सावित्राले लिगमा पहिलो खेल पनि खेलिसकेकी छन् । उनले पहिलो खेलमै शानदार प्रदर्शन गर्दै टोलीलाई फराकिलो जित दिलाइन् । गत बुधबार केरला युनाइटेडविरुद्ध सावित्रा एक्लैले पाँच गोल गरिन् । उनले पहिलो हाफमै चार गोल गरिन् । पूरा नखेलेकाले दोस्रो हाफमा सावित्राले एक गोल गरिन् ।

गोकुलम केरलाबाट लिग खेलिरहेकी सावित्रा केही समयअघि मात्र चोटबाट मुक्त भएकी थिइन् । उनले शानदार कमब्याक गर्दै समर्थकलाई मनोरञ्जन दिएकी छन् । सावित्राकै उत्कृष्ट प्रदर्शनमा पहिलो खेलमा गोकुलमले केरला युनाइटेडलाई ११–० ले हरायो । अब केही साता गोकुलमकाे टाेलीले आराम गर्नेछ ।

सावित्राआवद्ध गोकुलमले दोस्रो खेल ३ सेप्टेम्बरमा डन बोस्को एफएविरुद्ध खेल्नेछ । त्यसपछि तेस्रो खेलमा गोकुलमले ६ सेप्टेम्बरमा बास्को एफसीको सामना गर्नेछ । चौथो खेलमा गोकुलमको भेट इमेरिट्स एससीविरुद्ध हुनेछ । सो खेल ११ सेप्टेम्बरमा हुनेछ ।

Loading...