अमेरिकाले दियो स्कटल्याण्डलाई विशाल लक्ष्य, जोन्सले खेले आक्रामक शतकीय पारी

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाले घरेलु टोली स्कटल्याण्डलाई २९६ रनको लक्ष्य दिएको छ । एबार्डेनस्थित मनोफिल्ड पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९५ रन बनायो ।

उसका लागि क्यारेबियन मूलका आरोन जोन्सले शतकीय पारी खेले । मात्र ८७ बलको सामना गरेका उनले नौ चौका र ९ छक्कासहित अविजित १२३ रनको पारी खेलेका हुन् । उनले अन्तिम ओभरमा लगातार तीन छक्का हिर्काउँदै स्कटल्याण्डलाई बलियो लक्ष्य दिन सफल भए । एकदिवसीय अन्तर्राष्ट्रियमा जोन्सको यो पहिलो शतक हो ।

त्यस्तै, सुशान्त मोदानीले ७१ ब्लमा सात चौकासहित ५२ रन जोडे । ओपनिङ ब्याटर स्टिभन टेलरले ३७, कप्तान मोनांक पटेलले १९, इयान हल्याण्डले २०, गजानन्द सिंहले १३ र निसर्ग पटेलले १२ रनको योगदान दिए । स्कटल्याण्डका लागि मार्क वाट र केभिन मेनले सर्वाधिक दुई/दुई विकेट लिए । जारी सिरिजमा पहिलो खेलमा अमेरिकाले यूएईलाई एक विकेटले हराएको थियो । त्यस्तै, स्कटल्याण्डले पहिलो खेलमा यूएईलाई ६४ रनले हराएको थियो ।

विश्वकप लिग–२ मा हालसम्म अमेरिकाले २५ मध्ये १२ मा जित र १२ खेलमा हार बेहोरेको छ । ऊ अंक तालिकाको चौथो स्थानमा छ । त्यस्तै, यूएईले २४ म्याच खेल्दा १२ मा जित र १० खेलमा हारको सामना गरेको छ । ऊ अंक तालिकाको तेस्रो स्थानमा छ । नेपाल तालिकाको छैटौं स्थानमा छ । नेपालले २० म्याच खेल्दा आठमा जित र ११ खेलमा हार बेहोरेको छ ।

सात टिमले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको शीर्षमा ओमान छ । उसले ३६ म्याचमध्ये २१ म जित र १३ खेलमा हार बेहोरेको छ । त्यस्तै, स्कटल्याण्ड दोस्रो, नामिबिया पाँचौँ र पपुवा न्यूगिनी सातौँ स्थानमा छन् । अंक तालिकाको शीर्ष तीनमा रहने टोलीले सिधै अर्को वर्षको एकदिवसीय विश्वकप छनोट खेल्न पाउने छन् । विश्वकप लिग–२ मा हरेक टिमले ३६ म्याच खेल्न पाउने छन् । नेपालले अझै यो लिगमा १६ म्याच खेल्न बाँकी छ ।

Loading...