म भाटभटेनी

  • हिक्मत शाही

मलाई मान्छेहरु भाटभटेनी भनेर चिन्ने गर्छन् । झट्ट सुन्दा दुईवटा नाम सँगै सम्बोधन गरे जस्तो लाग्छ । मेरो नाम कि भाट मात्रै हुनुपर्ने कि भटेनी मात्रै तर राख्नेले भाटभटेनी राखिदिएपछि मैले स्विकार नगरेर सुख्ख पाइन्छ ? मैले जस्तै आफ्नो साक्खै नामबाट खुसी नहुने म मात्र होइन मान्छेहरु पनि धेरै छन् । मान्छेलाई आफ्नो मन नपरेको नाम फेर्न निकै सजिलो छ तर मलाई त्यति सजिलो छैन । मैले मेरो नाम मन परेपनि वा नपरे पनि स्विकार गर्नै पर्छ । जो सहजै स्वीकार गरिरहेको छुँ !

 

उसो त मानिसहरु पनि एकै किसिमका कहाँ हुन्छन् र ? शारीरिक बनावट , आकार प्रकार अनि रङ्गको विविधता झैं उनीहरुको चरित्र अनि स्वभावमा समेत विविधता रहेको हुन्छन् । कोही जे-जस्तो भएपनि ठिकै छ नि भन्ने सरल स्वभावका हुन्छन् भने कोही चाहिँ जण्ड अनि मापाका हुन्छन् । सिधासाधा मानिसको एउटै नामले सिंगो जुनी बित्छ तर जण्डहरु उदण्ड स्वभावका हुनेहुँदा उनीहरुले आफ्ना नाम समेत अनेक राखेका हुन्छन् ! त्यो मानिसको नामको कुरा भयो ! त्यसमा मैले धेरै टिप्पणी गर्नुछैन तर मेरो नाम चाहिँ सुन्दा अनौठो लाग्छ मलाई ! यस्तो अनौठो नाम किन राखिएको होला ?

 

फेरि पनि राख्नेले मन पराएर मेरो नाम राखिसकेपछि मैले किन आपत्ति गर्नुपर्यो र ??

फेरि कुनै कुनै मान्छेका नाम पनि मेरा जस्तै अनौठा किसिमका हुनेगर्छन् । कसैकसैको त जीवनको वास्तविकता र नामका बिचमा कहिल्यै तालमेल मिल्दैन । तर पनि उनीहरुले त्यो नाम आजीवन स्वीकार गरेका हन्छन् । गोजीमा सुको नहुनेको नाम धनबहादुर , मरन्च्यासे लुरेको नाम बलबहादुर , डरपोक कायरको नाम वीरबहादुर , अङ्गारझैं कालो मान्छेको नाम लालबहादुर ! यस्ता उदाहरण कतिछन् कति ?? त्यसैले आफ्नो नाममा मैले त्यति धेरै चित्त दुखाई गर्नु ठीक छैन । फेरि पनि मनै त हो ! चित्त नबुझेको कुरामा दुखिहाल्दो रैछ ।

 

तर पनि म भाटभटेनी हुँ ! नेपालको मेची देखि महाकालीसम्मका मानिसले मलाई मेरो यहि नामले चिन्ने गर्छन् । म एउटै हुँ तर मेरा शाखाहरु देशका विभिन्न स्थानमा रहेका छन् । मानिस र मेरा बीचमा रहेको सम्बन्ध व्यापारिक मात्र हो । म सामान दिन्छु , मानिसहरु पैसा तिर्छन् र सामान लैजान्छन् ! मानिस र मेरा बीचको औपचारिक सम्बन्धमा कुनै किसिमको निजात्मकता छैन । न हाम्रा बीचमा कुनै किसिमको आत्मीयता छ न त घनिष्ठता नै । मानिस र मेरा बीचमा व्यापारिक सम्बन्ध छ भनेपछि तपाईंहरु हाम्रो सम्बन्धको गहिराइ सजिलैसँग आँकलन गर्न सक्नुहुन्छ । मानिस र मेरा बीचको सबैभन्दा घनिष्ठता भनेको बार्गेनिङबाट लिन सकिने छुट मात्र हो ! त्यो फाइदा पनि सक्नेले लिने हो नसक्नेले त्यो पनि लिन सक्दैन ।

 

मेरो कहानी भन्नुभन्दा पहिले एउटा किस्सा सुनाउन मन लाग्यो :
कर्णाली राजमार्गमा सिङ्गल ट्र्याक खुलेपछि सर्वप्रथम जुम्लाको कुनै एउटा गाउँमा पहिलो पटक ट्याक्टर पुग्ने भएछ । गाउँमा भोलि ट्याक्टर आउदैछ भन्ने हल्लाले गाउँ निकै तातेछ । गाउँमा ट्याक्टरको स्वागत गर्न पाइने भो भनेर गाउँभरिका मानिस खुसी खुसीले रातभरि राम्रोसँग निदाउन सकेनछन् । बिहान उज्यालो भयो ! उज्यालो नहुँदै , ट्याक्टरको स्वागतका लागि गाउँभरिका मानिसहरु लामवद्द भएछन् । के बालबालिका , के युवायुवती , के बयस्क , के वृदवृद्दा ? सबै उमेरसमुहका मानिसहरु लाममा थिए । निकै लामो प्रतीक्षा पछि मध्यान्नतिर चर्को घाममा ट्याक्टर गाउँ छिरेछ । ट्याक्टर गाउँ उक्लिएपछि गाउँलेको खुसीको सिमा नाध्यो । बाजागाजा अनि नाचगानका साथ गाउँमा ट्याक्टरको हार्दिक स्वागत भएछ । ड्राइभरलाई माला , खादा , अबिर , अक्षताले भव्य स्वागत गरिसकेपछि गाउँका बुढापाकाहरुको ध्यान थकित ट्याक्टर तिर गएछ । उनिहरुले हतार हतार गाउँ छिरेर ट्याक्टरकालागि कुँडो , खोले , पानी अनि घाँस , परालको व्यवस्था गरेछन् ।

यो सबै देखेर ड्राइभर मुसुमुसु मुस्कुराएछ ! युवा अनि बयस्कहरुले चैं वृद्धवृद्दाहरुलाई त्यसो होइन भनेर सम्झाएछन् ।

………… किस्सा त्यतिमात्रै हो !!

अब मेरो कथा यसरी सुरु र अन्त्य हुन्छ :
( परिवेश धनगढी )

नेपालका अन्य स्थानमा पनि मेरा शाखाहरु रहेका छन् । त्यहाँ मानिसहरुसँगको मेरो सम्बन्ध पसल र ग्राहकको मात्र हो । त्यसभन्दा धेरै न मैले उनीहरुको बारेमा सोच्छु न त उनीहरुले नै मेरो बारेमा सोच्छन् । फटाफट आउँछन् , चाँड्चाडौ आफुलाई आवश्यक परेको समान किन्छन् र बाहिर निस्कन्छन् । न कुनै भिडभाडाका हुन्छ न त स्वरसराबा नै । तर धनगढीमा आइसके पछि मैले नबुझेको एउटो कुरो ; यो सुदूरपश्चिमको हावापानी यस्तै होला कि यहाँका मानिसहरु ? हरेक दिन , जुम्लामा पहिलो पटक ट्याक्टर हेर्नेहरुको जस्तो भिड लाग्छ मेरो परिसरमा ! म सामान किन्ने पसल होइन कि यिनीहरुका लागि पिकनिक स्पट जस्तो भएको छुँ । तीन घण्टा घुमेर सिन्को नकिन्नेहरु , सेल्फी चाहिँ तीन वर्षलाई पुग्ने गरेर खिच्छन् । टिकटक , फेसबुक जता हेर्यो यिनका बासी अनुहारहरुसँग मेरो मात्रै अनुहार देखिन्छ । कति खेर त सोच्छु धनगढीमा कस्तो साइतमा आइए छ भनेर ।

 

लाज हग्नेलाई भन्दा देख्नेलाई धेरै हुन्छ भनेको सायद यस्तैलाई हो क्या रे ? जे भएपनि ग्रहक हुन् ! आज नकिने भोलि किन्लान , आज नसुध्रीए भोलि सुध्रीएलान भन्यो , फेरि उस्तै ताल ! हाँस्नु पनि कति के ? हिजो मात्रै एउटो गोज्याङ्रो लिफ्टको गति कम भयो भनेर दौडेर तल ओर्लिदै थियो , पछारियो गजबसँग ! यस्ता किस्सा त दिनकै कति हुन्छन् कति ??? धन्न सीसीटीभी क्यामेरा राखिएका छन् र , लामो हात गर्नेहरुका हात बाँधिएका छन् ।

 

मलाई मेरो नाम मन नपरे जस्तै यी सुदूरका मानिसका हर्कत पनि मन परेका छैनन् । तर पनि के गर्नु र ? म निर्जीव परे , यिनीहरु सजीव भएर पनि कहिल्यै नसुध्रीने जड परे । फेरि मुख खोलेर केही भन्न पनि गार्हो छ । पसलले ग्राहकलाई मुख छोड्नु भनेको आफ्ना खुट्टमा आफै बन्चरो हान्नु पनि त हो !

 

म आशावादी यस मानेमा मात्रै भएको छुँ कि हिजोआज पनि जुम्लाका बुढापाकाहरु थाकेको ट्याक्टरलाई घाँस अनि कुँडो लिएर आउँदैनन् ।

Loading...