युएईका अलराउन्डर मुस्तफाले पहिलो एकदिवसिय क्रिकेट खेल जिते सँगै सन्दिपलाई सम्झेर यस्तो भने


काठमाडौं: नेपाललाई हराएपछि यूएईका अलराउन्डर रोहन मुस्तफाले प्रतिक्रिया दिएका छन्। उनले नेपालसँगको म्याच जित्दा खुसी लागेको बताएका छन्। उनले नेपालमा खेल्न पाउँदा पनि खुसी लागेको र नेपाली टिम राम्रै भएको बताएका छन्।


खेलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले ब्याटिङ गर्न सुरुवातमा त्यति सजिलो नभएपनि म्याच जितिएको बताएका छन्। रोहितकुमार पौडेलले युवा कप्तान भएको उल्लेख गर्दै मुस्तफाले आगामी दिनमा उनले राम्रो गर्ने विश्वास व्यक्त गरे।



यसका साथै उनले नेपाली टिमले सन्दीप लामिछानेलाई मिस गरेको पनि औंल्याएका छन्। ‘इमानदारीपूर्वक भन्नुपर्दा उनीहरूले सन्दीपलाई मिस गरिरहेका छन्। सन्दीप मध्य ओभरमा उनीहरूका मुख्य बलर थिए जहाँ उनले विकेट लिइरहेका थिए,’ उनले भने, ‘त्यस्तो राम्रो बलर मिस गर्दा अन्य बलरहरूमा दबाब हुन्छ। यदि मिडिल ओभरमा विकेट लिइएन भने म्याच जित्न गाह्रो नै हुन्छ।’


युएईसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा पराजित भएपछि नेपालका कप्तान रोहित पौडेलले सुरुमै विकेट झर्दा लक्ष्य पछ्याउन गाह्रो भएको बताएका छन् । सोमबार टीयू मैदानमा भएको खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको थियो । तीन खेलको शृंखलामा युएईले १-० को अग्रता समेत लिएको छ ।
यसै खेलबाट ओडीआई कप्तानीमा डेब्यू गरेका रोहितले बलिङमा पनि राम्रो सुरुवात गर्न नसकेको बताए । ‘पावर प्लेमा राम्रो बलिङ भएन । हामीले कन्डिसनको प्रयोग गर्न सकेनौं,’ रोहितले भने । यस्तै ब्याटिङमा पनि सुरुको विकेट जाँदा कठिन भएको बताए ।

‘ब्याटिङमा पनि सुरुमा कोल्याप्स भयो । ३ विकेट चाँडै गयो । सुरुमा लगातार विकेट नगएको भए हामीले लक्ष्य भेट्टाउन सक्थ्यौं,’ रोहितले भने, ‘खेलको बीचमा हामी सहज अवस्थामा पुग्न लागेका थियौं । तर, योजना लागू भएन । दीप्पी र अर्जुन हुँदा जित्न सकिन्छ भन्ने थियो । तर विकेट गएपछि गाह्रो भयो ।’
आजको खेलमा कुशल भुर्तेलले पुनरागमन गर्दै सातौं नम्बरमा ब्याटिङ गरेका थिए भने आसिफ शेख र र अर्जुनले ओपनिङ गरेका थिए । यस्तै हरिशंकर शाहले डेब्यू गरे । कप्तान रोहितले ओनपिङमा आसिफ र अर्जुनले राम्रो गरेकोले कुशल भुर्तेललाई तल्लोक्रममा खेलाएको बताए ।
‘ओडीआईमा अर्जुन र आसिफले ओपनिङ राम्रो गरिरहेका छन् । त्यसैले अहिले कुशलले तल नै ठीक मानेको छ,’ कुशलको ब्याडिङ अर्डरमा सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्नमा रोहितले जवाफ दिए । यस्तै हरिशंकर शाहले डेब्यू प्रदर्शनबाट आफू सन्तुष्ट रहेको रोहितले बताए । पछिल्लो समय नेपालका लागि राम्रो खेलिरहेका आरिफ शेख र आदिल आलम आजको खेलमा बेन्चमा थिए ।
नेपालले ललित राजवंशीलाई मात्र स्पीनरको रुपमा खेलाएको थियो । कप्तान रोहितले नामिबियामा डिसेम्बरमा हुने क्रिकेट विश्वकप लिग टू को तयारीलाई ध्यानमा राख्दै खेलाडीहरुलाई अहिले अवसर दिइरहेको बताए। ‘हामीले को कहाँ फिट हुन्छ भनेर हेरिरहृका छौं । यो सिरिजमा सबैलाई अवसर दिनेछौं। नामिबियाका लागि सन्तुलन कस्तो हुन्छ भनेर यो तीन म्याचमा हेर्नेछौं।’ नेपालले बुधबार युएईसँग दोस्रो खेल खेल्नेछ।
युएईका कप्तान सीपी रिजवनले नेपालको घरेलु दर्शक र माहोलसामू पहिलोपल्ट खेल्न पाउँदा खुसी लागेको बताए। खेलपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले सही समयमा विकेट लियौं। आगामी खेलमा पनि ब्याटिङ मोमेन्टमलाई कायम राख्ने प्रयास गर्नेछौं ।’ कप्तान रिजवनले आफ्ना डेब्यूट्यान्ट बलर आयन खानको प्रशंशासमेत गरे ।


