पञ्चेश्वर आयोजना अगाडी बढ्छः प्रधानमन्त्री देउवा


बैतडी: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ्ने बताउनुभएको छ । बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,“ पञ्चेश्वर आयोजना बन्छ, पञ्चेश्वर बनेमा यहाँको विकास हुन्छ । यसलाई अवश्य अगाडी बढाउछौं । पञ्चेश्वरलाई अगाडी बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू पनि सकारात्मक हुनुहुन्छ।”


यसका साथै उहाँले पाटन–पञ्चेश्वर सडक खण्ड छिट्टै कालोपत्रे हुने बताउनुभयो । बैतडीको तल्लोस्वराड क्षेत्रमा पहिले भन्दा अहिले धेरै विकास भएको भन्दै उहाँले अझै अधुरा विकास निर्माणका कार्य अगाडि बढाउने बताउनुभयो । उहाँले भन्न्ुभयो,“ धर्मघाटमा पुल, पाटन–उग्रतारा–मेलौली सडक खण्ड निर्माण, लगायतका बाँकी विकास निर्माणका कार्यहरु अगाडि बढाउने छौं ।”



बैतडी शहिद दशरथचन्द र द्वारीकादेवी ठकुरानीको जिल्ला रहेकोले यहाँ गठबन्धनले जित्नु आवश्यक रहेकोमा देउवाको जोड रहेको छ । दशरथचन्द जन्मेको र द्वारीकादेवी ठकुरानीको ठाउँमा आउँदा निकै खुसी छु उहाँले भन्नुभयो,“ शहिद दशरथचन्द र द्वारीकादेवी ठकुरानीको जिल्ला रहेकोले यहाँ गठबन्धनका उम्मेदवारले जित्न आवश्यक छ । ”
देश महत्वपूर्ण मोडमा उभिएकाले गठबन्धनलाई विजय गराउन आवश्यक रहेको देउवाको भनाई छ। उहाँले भन्नुभयो,“केपी ओलीले दुई पटक संसद विघटन गरेकाले यो गठबन्धन बनेको हो । गठबन्धनका उम्मेदवारलाई जिताउनुस् , यो गठबन्धन १०÷१५ वर्षसम्म जान्छ । गठबन्धन सरकार लामो सयमसम्म अगाडी बढे देश सम्वृद्ध बन्नेछ, देशमा विकास हुनेछ । ”


सोही सभालाई सम्बोधन गर्नुहुदैं नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले देशको विकास र आर्थिक सम्वृद्धिका लागि गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवा दोस्रोपटक बैतडी पुग्नुभएको हो । यसअघि कात्तिक २३ गते पनि बैतडीको पाटनमा आयोजना गरिएको चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएको थियो ।
बैतडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संयुक्त रुपमा गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् ।

गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहनुभएको छ । प्रदेश सभा (क) मा नेपाली कांग्रेसका बिरबहादुर बिष्ट र प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा हुनुहुन्छ ।

