यूएईलाई पछार्दै एक दिवशिय क्रिकेट सिरिजको कप नेपालको कब्जामा, यी खेलाडीले बनाए नयाँ किर्तिमान

काठमाडौं: नेपालले पाहुना टोली यूएईसँगको तीन म्याचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको तेस्रो तथा निर्णायक म्याचमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले २–१ ले उपाधि उचालेको हो। पहिलो खेल ८४ रनले हारको नेपाल दोस्रो म्याचमा ३ विकेटले विजयी भएको थियो।

यूएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपाललाई सिरिज दिलाउन आसिफ शेख र ज्ञानेन्द्र मल्लले शानदार ब्याटिङ गरे। आसिफले ११९ बलमा १२ चौकाको मद्दतमा अविजित सर्वाधिक ८८ रनको योगदान दिए। यो उनको पाँचौं एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक हो।

ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रन जोडे। उनको पनि यो पाँचौं एकदिवसीय अर्धशतक हो। यस्तै, कप्तान रोहितकुमार पौडेलले १० र अर्जुन साउँदले ९ रन बनाए। दीपेन्द्रसिंह ऐरी शून्य रनआउट भए। यूएईका लागि हजरत बिलाल र आयान अफजल खानले १÷१ विकेट लिए। यूएईले २ विकेट रनआउटको रूपमा पायो।

त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको यूएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। उसका लागि आयान अफजल खानले अर्धशतकीय पारी खेले। उनले ६३ बलमा ७ चौका र १ छक्काको मद्दतमा नटआउट ५४ रनको योगदान दिए। यो उनको पहिलो एकदिवसीय अर्धशतक हो।

हजरत बिलालले अविजित २० रन बनाए। १०औँ विकेटका लागि आयान र बिलालले अविजित ८३ रनको कीर्तिमानी साझेदारी गरे। यूएईका लागि १०औँ विकेटका लागि भएको यो सर्वाधिक ठूलो साझेदारी हो। यस्तै, अलिशान शराफुले ३३, रोहन मुस्तफाले २४ र मोहम्मद वसीमले ११ रन जोडे। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। यूएईका ३ खेलाडी वृत्य अरविन्द, अहमद राजा र जहुर खान शून्य रनमा आउट भए।

नेपालका लागि गुल्शन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए। गुल्शनले ७ ओभरमा ४२ रन खर्चिए। कुशलले ७ ओभरमा १ मेडनका साथ ३२ रन खर्चिए। दीपेन्द्रले १० ओभरमा ३ मेडनसहित २२ रन मात्र दिए। सोमपाल कामीले ९ ओभरमा २ मेडनसहित ३३ रन खर्चिएर १ विकेट लिए। ललितनारायण राजवंशीले १० ओभरमा २ मेडनका साथ २० रन दिँदै १ विकेट लिए।

यससँगै नेपालले नयाँ कीर्तिमान बनाएको छ। घरेलु भूमिमा पहिलोपटक दुई देशीय सिरिज जित्दै नेपालले इतिहास रचेको हो। पपुवा न्यू गिनीसँग नेपालले यसैवर्ष पहिलो एकदिवसीय सिरिज घरेलु भुमिमा खेलेको थियो। दुई खेलको उक्त सिरिज नेपालले २–० ले हारेको थियो।

यससँगै कप्तान रोहितकुमार पौडेल पनि पहिलो कप्तानीमै सिरिज उचाल्न सफल भएका छन्। रोहितले यसै सिरिजमार्फत् नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानी डेब्यू गरेका थिए। यसका साथै रोहित घरेलु मैदानमा सिरिज जित्ने सबैभन्दा कान्छा कप्तानसमेत बनेका छन्।

Loading...