डोटीको जोरायलमा प्रतिनिधि सभाको मत पत्र प्रदेशको लागि वितरण हुँदा मतदान स्थगित


मंसिर: डोटीको जोरायल गाउँपालिका-३ रावतकट्टेमा रहेको रत्न माध्यमिक विद्यालयमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत पत्र प्रदेश सभाको प्रत्यक्षतर्फका लागि वितरण हुँदा मतदान स्थगित भएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको क्रम संख्या ९०१ देखि ९१८ सम्मको मत पत्र प्रदेश सभाको प्रत्यक्षतर्फका लागि वितरण गरिएको हो ।
मतदाताले उक्त विषय थाहा पाएपछि सोही क्रम संख्याभित्रका पछिल्लो ४ जनाले भने पुनः मतदान गरेका छन् । बाकी १४ मत बदर गर्ने वा मतदान प्रक्रिया नै स्थगित गर्ने भन्ने विषयमा अहिले विवाद भैरहेको छ ।
जिल्लाबाट खटाइएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख एवं निर्वाचन अनुगमन प्रतिनिधि खड्क बहादुर शाह पनि सोही स्थलमै खटिएका छन् ।
डोटीकै आदर्श गाउँपालिका ५, मा रहेको लामिखाल स्वास्थचौकीका सिनियर अनमी यज्ञ देवी सिंह उक्त मतदान स्थलमा मतदान अधिकृत छन् ।
उक्त मतपत्र वितरण गर्ने कर्मचारी डोटीको शिखर नगरपालिकामा कार्यरत ओभरसियर तिलक महरा हुन् ।
मतदान स्थलमा खटिएका विभिन्न दलका प्रतिनिधिहरुले कर्मचारीको चरम लापरबाहीका कारण समस्या भएको बताए ।
जम्मा ९८० मतदाता रहेको उक्त मतदान केन्द्रमा यतिन्जेलसम्म जम्मा २३५ मत खसेको जनाइएको छ ।



