फिफा विश्वकप च्याम्पियन अर्जेन्टिना माथि साउदी अरेबियाको चमत्कारिक जित

दुई पटकको फिफा विश्वकप च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२२ मा खराब सुरूवात गरेको छ।

मंगलबार भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिनालाई एसियन टिम साउदी अरेबियाले २-१ गोलले हरायो।

साउदीले खेलमा पछि परेको स्थिति उल्टाउँदै उत्कृष्ट जित निकालेको हो।

खेलको दशौं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो।

कप्तान लिओनल मेसीले प्राप्त पेनाल्टीमा सहज गोल गरेका थिए। मेसीले चार विश्वकपमा गोल गर्ने अर्जेन्टाइन खेलाडीको रेकर्ड बनाएको खेलमा उनको टिम पहिलो हाफमा १-० गोलले अघि थियो।

पहिलो हाफमा अर्जेन्टिनाले तीन पटक बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरेका थिए।

साउदी अरेबियाले दोस्रो हाफको पाँच मिनेटको अन्तरमा दुई गोल गर्‍यो।

खेलको ४८ मिनेटमा सलेह अलशेरीले बराबरी गोल फर्काए। ५३ मिनेटमा सलेम अलडावसरीले डिबक्स बाहिरबाट सेकेन्ड बार च्याप्दै उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ ले अघि बढाएका थिए।

फिफा वरीयतामा ५१औं स्थानमा रहेको साउदीले तेस्रो वरीयताको अर्जेन्टिनालाई हराउने क्रममा दोस्रो हाफमा उत्कृष्ट खेलेको थियो।

पहिलो खेलमै पराजित भएपछि सन् १९८६ पछि पहिलो विश्वकपको उपाधिको खोजीमा रहेको अर्जेन्टिना दबाबमा परेको छ।

साउदीले अर्जेन्टिनालाई हराएसँगै विश्वकप इतिहासमा एक चर्चित जित निकाल्न सफल भएको छ।

 

Loading...