कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात


धनगढी: कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा कर्णालीले दिएको १ सय २८ रनको लक्ष्य सुदूरपश्चिमले २६.२ ओभरमा ५ विकेट गुमाउँदै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो ।


सुदूरपश्चिमको जितमा प्लेयर अफ दि म्याच घोषित भएका मिलन बोहोराले ४७ बलमा ४२ तथा दीपक बोहोराले १६ बल तथा दीपक बोहोराले २४ बलमा समान २०/२० रन बनाउन बाहेक सुनिल चन्दले अविजित ११ रन जोड्दा विशाल ऐरले ९ रनको योगदान गरे । बलिङतर्फ कर्णालीका लागि अनुज चुनाराले ३ तथा सन्दीप शाही र मोहन विकले समान १/१ विकेट लिए ।



त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३२.३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २७ रन जोडेको थियो । खराब शुरुवात गरेको कर्णालीका लागि दिनेश अधिकारीले ३२ बलमा सर्वाधिक ३५ रनको पारी खेल्दा सुवास ऐरले ३० तथा कप्तान विपिन रावलले १९ रनको व्यक्तिगत स्कोर बनाए ।


आवाश शाहले १५ रन जोड्ने क्रमममा पवेलियन फर्किंदा अन्य ६ खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । कसिलो बलिङ गरेको सुदूरपश्चिमका लागि मिलन बोहोराले ३ तथा नरेन साउद २ विकेट लिएका थिए । हेमन्त धामी र कैलाश ऐरले समान १÷१ विकेट लिएका थिए ।
मंसिर १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छ । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।



