उपाधि दाबेदार मानिएको पोर्चुगलले घानामाथि संघर्षपूर्ण जित, रोनाल्डोले बनाए नयाँ कीर्तिमान

काठमाडौं: उपाधि दाबेदार पोर्चुगलले कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३-२ गोल अन्तरले हराउँदै पोर्चुगलले सुखद सुरुआत गरेको हो ।

कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले घानामाथि संघर्षपूर्ण जित निकालेको हो । खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो ।

 

खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको हो ।

 

यस गोलसँगै रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको नयाँ कीर्तिमान बनाए । ३७ वर्षीय रोनाल्डोले यसअघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए ।

 

खेलको ७३ औं मिनेटमा आन्द्रे एयुले गोल गर्दै घानालाई १-१ गोलको बराबरीमा ल्याए । ७८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए ।

 

खेलको ८० औं मिनेटमा राफायल लियोले गोल गरेपछि पोर्चुगल ३-१ ले अघि रह्यो । त्यसपछि खेलको ८९ औं मिनेटमा घानामा ओस्मान बुकारीले गोल गरेपनि पोर्चुगल ३-२ ले विजयी भयो ।

 

यस जितसँगै समूह ‘एच’ को पोर्चुगलले पहिलो खेलमा ३ अंक जोडेको छ । पोर्चुगल समूहको शीर्ष स्थानमा रहेको छ। पुछारमा रहेको घानाले भने हारबाट विश्वकपको सुरुआत गरेको छ।

Loading...