फिफा विश्वकप फुटबलमा वेल्सलाई २-० गोल अन्तरले हराउँदै इरानले पहिलो जित

काठमाडौं : इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २-० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो।

इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोल गरे । अहमद बिन अलि स्टेडियममा भएको रोमान्चक खेलमा दुबै गोल इरानले खेलको इन्जुरी समयमा गरेको हो ।

खेलको ९८ औं मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको १०१ औं मिनेटमा रामिनले गोल गर्दै इरानलाई २-० को रोमान्चक जित दिलाए । त्यसअघि इरानका अलीले १६ औं मिनेटमा गोल गरेपनि मान्यता पाएन । भीएआरले उनलाई अफसाइड देखाएको थियो ।

दोस्रो हाफमा इरानको दुई प्रहार पोस्टमा लाग्दै फर्किएको थियो । यस्तै खेलको ८६ औं मिनेटमा वेल्स १० खेलाडीमा समेटियो । इरानका तारेमी मेहदीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए । वेस्लले पनि खेलमा गोलको केहि उत्कृष्ट अवसर सिर्जना गरेको थियो । तर , सफल भएनन् ।

पहिलो खेलमा इङ्ल्याण्डसँग पराजित भएको इरानले ३ अंक जोडेको छ। इरानले ३ अंक बटुल्दै अन्तिम १६ को सम्भावना जीवित राखेको हो। वेल्सले भने पहिलो खेलमा अमेरिकासँग १/१ को बराबरी खेलेको थियो। यो नतिजाले दुवै टोलिको अघिल्लो चरण यात्रा कायम छ। तर त्यसका लागि अन्तिम खेल जित्नु पर्ने हुन्छ।

त्यो अवस्थामा आज राति हुने अमेरिका र इङ्ल्याण्डको नतिजाले यी टोलिको अघिल्लो यात्रा बारे निश्चित हुन्छ। समूहको अन्तिम खेलमा इरान र अमेरिका तथा वेल्स र इङल्याण्याण्ड भिड्ने छन्।

Loading...