फिफा विश्वकप फुटबलमा सेनेगल विश्वकपमा रोमाञ्चक जित निकाल्दै नकआउटमा प्रवेश

काठमाडौं: कतारमा जारी विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा इक्वेडरलाई पराजित गर्दै सेनेगल नकआउटमा पुगेको छ। पहिलो खेलमा सुखद् नतिजा निकाले पनि सेनेगलसँग पराजित भएसँगै इक्वेडरको भने विश्वकप यात्रा समूहचरणमै सकिएको छ।

खालिफा इन्टरनेशनल स्टेडियममा मंगलबार भएको खेलमा सेनेगलले इक्वेडरलाई २–१ ले पराजित गरेको हो। अन्तिम खेलमा बराबरी नतिजा निकालेको भए पनि इक्वेडर अघिल्लो चरण प्रवेश गर्थ्यो। तर सेनेगलको अग्रता तोड्दै ६७ मिनेटमा बराबरी गरे पनि त्यसलाई ३ मिनेट मात्रै जोगाउन सक्यो। ७४ औं मिनेटमा सेनेगलका लागि कलिडउ कौलिवालीले गोल गर्दै सेनेगलको नकआउट चरण पक्का गरे।

चौथोपटक विश्वकप खेलेको इक्वेडर तेस्रोपटक समूह चरणबाट नै बाहिरिएको हो। सन् २००२ मा पहिलो पटक विश्वकप खेलेको इक्वेडर समुह चरणबाट नै बाहिरिएको थियो। २००६ को विश्वकपमा अन्तिम १६ बाट बाहिरएको इक्वेडर २०१४ मा पनि समूह चरणबाट अघि बढ्न सकेको थिएन।

२०१८ को विश्वकपमा छनोट हुन नसकेको इक्वेडरको यो पटक अघिल्लो चरण पुग्ने बलियो सम्भाबना भए पनि सेनेगलले ब्रेक लगाइदियो। सेनेगल तेस्रो पटक विश्वकप खेल्दै छ। पहिलो सहभागितामा तहल्का मच्चाएको सेनेगलको १६ वर्ष पछिको विश्वकप भने सुखद हुन सकेन। २००२ मा क्वार्टर फाइनलमा पुगेको थियो।

तर २०१८ को विश्वकप समूह चरणमै टुंगिएको थियो। २० वर्षपछि पुनः अघि बढेको हो। अब सेनेगलले समूह बीको विजेतासँग क्वार्टर फाइनल प्रवेशका लागि खेल्नेछ।

यसैगरी नेदरल्याण्ड्स कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। नेदरल्याण्ड्सले मंगलबार राति कतारलाई २–० गोल अन्तरले पराजित गर्‍यो। यससँगै उ समूह ‘ए’ को विजेता पनि बन्यो।

अब नेदरल्याड्सले अन्तिम १६ मा समूह बी को उपविजेतासँग भिड्ने पक्का भएको हो। नेदरल्याण्ड्सको जितमा कोडी गोक्पो र फ्रेंकि डे जोङले गोल गरे। खेलको २६ औं मिनेटमा गोक्पोको गोलमा नेदरल्याण्ड्सले अग्रता लिएको थियो।

डे जोङले ४९ औं मिनेटमा अग्रता दोब्बर पार्दा घरेलु टोलीमाथि सहज जित हात पार्‍यो। यसअघि पहिलो खेलमा सेनेगललाई २–० ले पराजित गरेको थियो। इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको थियो।

९ औं पटक विश्वकप खेलिरहेको नेदरल्याण्ड्स खेलेका सबै विश्वकपमा समूह चरण पार गरेको छ। यसअघि नै तीन पटक फाइनलमा पुगेको नेदरल्याण्ड्सले उपाधि भने जित्न सकेको छैन।

१९७४ मा जर्मनीसँग पराजित भएको नेदरल्याण्ड्स लगातार अर्को विश्वकपमा फाइनल पुगे पनि अर्जेन्टिनाले उपाधिविहिन बनायो। २०१० मा स्पेनले पहिलो पटक विश्वकप जित्दा नेदरल्याण्ड तेस्रो पटक उपविजेतामा सीमित हुन पुग्यो।

२०१४ मा सेमिफाइनलसम्म पुगेको टोली २०१८ मा भने छनौट नै हुन सकेन। ८ वर्षपछि विश्वकपमा फर्किएको नेदरल्याण्ड्स यसपटक समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो।

नकआउटबाट नेदरल्याण्ड्स चारपटक बाहिरिएको छ। १९३४, १९३८, १९९० र २००६ मा भने अन्तिम १६ बाटै बाहिरिएको थियो। १९९४ मा भने क्वार्टरफाइनलमा पुगेकाे थियाे।

Loading...