विश्वकप क्रिकेट लिग -२ अन्तर्गत नेपालसँग नामिबिया भिड्दै, यस्ता छन सम्भावित ११ खेलाडी


काठमाडौं: नामिबियामा बिहिबारबाट सुरु विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालको पहिलो खेल आज शुक्रबार रहेको छ । पहिलो खेलमा नेपालले घरेलु राष्ट्र नामिबियाको सामना गर्दैछ ।


नेपाल र नामिबियाबीचको खेल वाइन्डरस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः१५ बाट सुरु हुनेछ । यस सिरिजमा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।



नेपाल र नामिबिया दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । ती दुवै खेल नामिबियाले जितेको छ । सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा रहेको छ ।


बिहीबारबाट सुरु यस सिरिजमा नामिबिया पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल भने जितसहित सिरिजको सुरुआत गर्न चाहान्छ ।
नेपालको सम्भावित प्लेइङ–११ : आसिफ शेख, अर्जुन साउँद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्शन झा र सागर ढकाल।



