नेपालको चर्चित फिल्म ‘प्रेम गीत ३’ का निर्माता निर्देशक सन्तोष सेनलाई लाग्यो ४ करोड ८४ लाख ठगीको आरोप


काठमाडौँ : ‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनलाई ठगीको आरोप लागेको छ । निर्माता सेनविरुद्ध ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाउदै सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा उजुरी हालेका हुन् । फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिएको भन्दै आफु उजुरी हाल्न बाध्य बनेको भन्दै राईले उजुरी गरेका छन् ।


राईले निर्माता सेनले तीन करोड भारतीय रुपैँया विभिन्न समयमा लिएको र विभिन्न समयमा टिकट काटिदिएको ४ लाख ५० हजार गरी ४ करोड ८४ लाख ५० हजार सेनले तिर्न बाँकी रहेको समेत आरोप लगाएका छन् । पिडित भनिएका राईले गम्भिर आरोप लगाउँदै भनेका छन् ‘विपक्षी र मेरो बीचमा डिसेम्बर ६, २०२० अर्थात् नेपाली मिति २०७७/०८/२१ गर्न मा सम्पन्न भएको सम्झौता मुताविकको शर्त विपक्षीले पूरा नगरी उल्लंघन गरेको पूराका लागि फोनवाट बारम्बार ताकेता गर्दा फोन नउठाउने, विपक्षीको घरमा जाँदा भेटसम्म नदिएकोले विपक्षीले म बाट लिएको उल्लेखित रकम अनुचित तरिकाले पचाउने दूषित नियत देखिएकोले विपक्षी यस संघको सदस्य समेत भएको कारणले विपक्षीलाई यस संघमा झिकाइ सम्झौता अनुसारको म बाट लगेको भारतीय रकम रु ३ करोडको हुन आउने नेपाली रु ४ करोड ८० लाख रकम र विपक्षी लगायत उक्त चलचित्रका नायक प्रदीप खड्का, ललित विष्ट र विपक्षी समेतलाई मुम्बई जाँदा प्लेनमा लगेको टिकटको रकम रु ४,५०,०००। (चार लाख पचास हजार) सहित जम्मा रु ४ करोड ८४ लाख ५० हजार रुपैयाँ विपक्षीबाट असुल उपर गराइ न्याय दिलाई पाउँ’ राईले निर्माता संघमा दिएको उजुरीमा उल्लेख छ । निर्माता संघमा राईले उजुरी दर्ता गराएसँगै अब प्रक्रियागत रुपमा अगाडि बढ्ने जनाइएको छ ।




