सुदूरपश्चिम प्रदेशसभामा समानुपातिक प्रणालीबाट चुनिने २१ सांसदमध्ये करिब ८१ प्रतिशत महिला, को को हुँदैछन् सांसद


सुदूरपश्चिम प्रदेशसभामा समानुपातिक प्रणालीबाट चुनिने २१ सांसदमध्ये करिब ८१ प्रतिशत महिला आउने भएका छन् । प्रदेश सभाका कुल सदस्यमध्ये ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार समानुपातिक प्रणालीबाट अधिकांश महिला चुनिने भएका हुन् ।


सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षबाट एकजना पनि महिला निर्वाचित भएका छैनन् । जसका कारण कम्तिमा पनि १७ जना महिला समानुपातिक प्रणालीबाट आउने पक्का भएको हो ।



५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षबाट ३२ र समानुपातिकबाट २१ सदस्य छानिन्छन् । जसमध्ये १७ जना महिला सदस्य हुन्छन् । प्रत्यक्षमा एकजना पनि महिला निर्वाचित भएका छैनन् । प्रत्यक्षतर्फ कांग्रेसले १२, माओवादीले ८, नागरिक उन्मुक्ति पार्टीले ५, एमाले र एकीकृत समाजवादीले तीन–तीन र एक स्वतन्त्र निर्वाचित भएका छन् ।


समानुपातिकबाट कांग्रेस र एमालेले सात–सात, माओवादीले तीन, नागरिक उन्मुक्तिले दुई तथा एकीकृत समाजवादी र राप्रपाले एक–एक सिट पाउने देखन्छि । आफूले पाएका सिटबाट दलहरूले छनोट गर्दा खस–आर्य ६०.०२, दलित १७.२९, थारू १७.२१, जनजाति ३.६१, मधेसी १.६४ र मुस्लिम ०.२३ प्रतिशत छान्नुपर्ने कानुनी व्यवस्था छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट २.३७ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट १२.७८ प्रतिशतको नाम समावेश गर्नुपर्ने हुन्छ ।
कांग्रेसबाट मधु भारती, सरस्वती खड्का, डम्मरी महरा, जुनाकुमारी दानी, ललिता सुनार, गीताकुमारी चौधरी र धनबहादुर बुढा सांसदमा चुनिने सम्भावना बढी छ ।
यस्तै एमालेबाट सन्तोषकुमारी शर्मा, जानकी बम, राधिका भुजेल, राजेन्द्रसिंह रावल, भरत साउद, हिरा सार्की र कुलदिव चौधरी, माओवादी केन्द्रबाट गीतादेवी माल, जानकीदेवी कुँवर र लक्ष्मी बिक, नागरिक उन्मुक्ति पार्टीबाट टीका थापा र इन्दिरा गिरी, एकीकृत समाजवादीबाट माया पन्त तथा राप्रपाबाट खसआर्यबाट एकजना समानुपातिक प्रणालीबाट सांसद बन्ने सम्भावना बलियो छ ।



