डडेल्धुरामा देउवासँग लामो समयसम्म प्रतिस्पर्धामा रहेका खगराज भट्ट भन्छन- मुख्यमन्त्री बन्न प्रदेशमा चुनाव लडेको हुँ


डडेलधुरा: नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले मुख्यमन्त्री बनाउने समझदारी अनुसार आफूले प्रदेशमा चुनाव लडेको बताएका छन् । डडेलधुरा प्रदेश निर्वाचन क्षेत्र १ बाट निर्वाचित भट्टले सोमबार पत्रकार सम्मेलन गरेर गठबन्धनमा आफूलाई मुख्यमन्त्री बनाउने सहमति भएको बताए ।


‘गठबन्धनमा आबद्ध दलहरूबीच मलाई मुख्यमन्त्री बनाउने एक किसिमको समझदारी भएको हो’ उनले भने, ‘त्यो लिखित त छैन । तर, शीर्ष नेताहरूले समझदारी कार्यान्वयन गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’



निर्वाचनपछि सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि समझदारी भएको भट्टको भनाइ छ ।


उनले सुदूरपश्चिमलाई सुन्दर पश्चिम बनाउने आफ्नो योजना रहेको पनि बताए । कृषिलाई गरिबी निवारणको हतियारको रूपमा प्रयोग गर्न आवश्यक रहेको उनले बताए ।
यसपटकको निर्वाचनमा कुनै पनि ठुला दलका लागि सुखद नतिजा नआएको बताउदै भट्टले भने, ‘कसैले नसोचेको जस्तो परिणाम आएको छ । ०५१ देखि ०५६ सालको जस्तो अस्थिरतातर्फ देश जाने चिन्ता छ ।’ यस्तै भट्टले अहिलेको गठबन्धनको निरन्तरता नै प्राकृतिक नै हुने बताए ।



