विश्च चर्चित टिम ब्राजिलले शानदार जित निकाल्दै क्वाटरफाइनलमा प्रबेश, आगामी खेल यो टिमसँग खेल्ने

काठमाडौं: ब्राजिल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो ।

स्टेडियम ९७४ मा ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो । खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए । उनले राफिन्हाको पासमा उत्कृष्ट गोल गरे ।

खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २-० गोलको अग्रता दिलाए । दक्षिण कोरियाका वु योङ जोङले रिचार्लिसनलाई आफ्नो पेनाल्टी क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो। जसमा नेयमारले सहजै गोल गरे ।

२९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दा ब्राजिल ३-० ले अघि रह्यो । खेलको ३६ औं मिनेटमा लुकास पाक्वेटाले भिनिसियसको पासमा गोल गर्दै ब्राजिललाई ४-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ-होले एक गोल फर्काएपनि ब्राजिल ४-१ ले विजयी भयो । अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्नेछ । क्रोएसिया जापानलाई हराएर अन्तिम आठमा प्रवेश गरिसकेको छ ।

ब्राजिल सन् १९९४ यताका सबै विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। ब्राजिल विश्वकप फुटबलमा सर्वाधिक सफल टिम हो। सबै विश्वकपमा सहभागी एक मात्रै टिम पनि हो। जसले ७ पटक फाइनलको यात्रा तय गर्दा सर्वाधिक ५ पटक उपाधि जितेको छ। अहिलेसम्मका सबै विश्वकप खेलेको ब्राजिल छैटौं उपाधिको खोजीमा छ।

ब्राजिल अन्तिम १६ बाट दुई पटक मात्रै बाहिरिएको छ। १९३४ को दोस्रो विश्वकप र १९९० मा मात्रै अन्तिम १६ बाट बाहिरिएको थियो।

७ विश्वकपमा फाइनलमा पुगेको ब्राजिलले ५ पटक विश्वकप जितेको छ। पछिल्ला ७ विश्वकपमा ३ पटक फाइनलमा पुगेको ब्राजिलले २ पटक उपाधि जितेको छ। ब्राजिल २०१४ सहित ४ पटक सेमिफाइनल पुगेको छ।

Loading...