फिफा विश्वकप फुटबलमा जापानको क्वाटरफाईनल खेल्ने सपना अधुरै, क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

काठमाडौं: साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा गोलकिपर डोमिनिक लिभाकोभिच चम्किएपछि क्रोएसियाले बाजी मार्यो ।

क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे । मार्को लिभाजा पेनाल्टीमा चुके ।

जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । तीनै जनाको पेनाल्टी प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले बचाए । पेनाल्टीमा जानु अघि खेलमा सुरुआती अग्रता भने जापानले बनाएको थियो ।

खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका थिए । योशिदाको पासमा उनले गोल गरेका हुन् । तर, दोस्रो हाफमा क्रोएसिया खेलमा फर्किएको थियो ।

खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । उनले डेजोन लेभ्रोनको पासमा हेडमार्फत उत्कृष्ट गोल गरे। समूह एफको उपविजेता क्रोएसिया पनि समूहमा अपराजित रहँदै नकआउटमा आएको थियो।

पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले अन्तिम खेलमा बेल्जियमसँग पनि गोलरहित बराबरी खेल्यो, जुन नतिजाका कारण बेल्जियम समूहचरणबाटै घर फिर्किएको थियो।

साबिक उपविजेता क्रोएसियाले दोस्रो खेलमा क्यानडालाई ४–१ ले पराजित गरेको थियो।

साबिक विजेता क्रोएसिया लगातार दोस्रोपटक पेनाल्टी सुटआउटमार्फत विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

यसअघि सन् २०१८ को विश्वकपमा पनि क्रोएसिया डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ ले पछि पार्दै क्वार्टरफाइनलमा पुगेको थियो।

Loading...