बैतडीकी मायाका लागि प्रेमको उपहारमा मृत्यु !


अत्तरिया: भनिन्छ, प्रेमले पारस्परिक खुसी र स्नेह दिन्छ । तर, बैतडीकी मायाका लागि यो अपवाद बनेको छ । मायाले प्रेमको उपहारमा मृत्यु पाएकी छिन । बैतडीको पञ्चेश्वर गाउँपालिका – ४ सौलोडाकी २१ वर्षीया माया लुहारले यस्तो नियती भोग्नुको मुख्य कारण हो उनका प्रेमिले उनीमाथि गरेको शंका । शंकाकै भरमा देशको सुरक्षा गर्न कसम खाएका मायाका प्रेमी आफ्नो प्रेमिकाको हत्या गर्न पुगेका छन ।


सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का भरत लुहारले प्रेमिका मायालाई आफूले इच्छ्याएकै ठाउँमा बोलाएर योजनावद्ध तरिकाले हत्या गरेका छन । भरत मंसिर ७ गते हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखराबाट विदामा घर आएका थिए । विदामा घर आएका भरतले मंसिर ११ गते पंञ्चेश्वर गाउँपालिका – ४ आम्चोरामा मायालाई भेटेका थिए । त्यही भेट पछि भरतले माया संग प्रेम भन्दा पनि बढी संका गर्न थाले । जसका कारण उनले सोही दिन मायाको मोबाइल नै खोसेर आफूसंग लगेका थिए ।



मायाको मोबाइल थुतेर लगेका भरतले २ दिन सम्म उक्त मोबाइलको निगरानी तथा चेकजाँच गरेको कुरा प्रहरीलाई बताएका छन । सोमबार प्रहरीले बैतडीमा पत्रकार सम्मेलन गरेर भरतले कसरी मायाको हत्या गरे भन्ने बारेमा प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको कुरा सार्वजनिक गरेको छ । बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रेमबहादुर शाहीले भरतले २ दिन मायाको मोबाइलको निगरानी गरेर तेस्रो दिन अर्थात मंसिर १३ गते मायालाई बोलाएर हत्या गरेको बताएका छन ।


भरतले मोबाइल फिर्ता गर्ने भन्दै बोलाएपछि भेट्न गएकी मायाले साथमा आफ्नी भदै नेहा लुहारलाई पनि लगेर गएकी थिइन् । भरतले मायालाई शिवनाथ गाउँपालिका – ६ टेलिकम टावर नजिकै दिउँसो २ बजे भेट्न बोलाएका थिए । सुनसान क्षेत्रमा भेट्न बोलाएका भरतले विवाद पछि हत्या गरेको बताएपनि पहिले नै साथमा चक्कु बोकेर आएको पाइएको छ ।
‘भरतले मायालाई प्रेम गर्ने गरेका थिए । मृतक मायाले भरत बाहेक अरुलाई पनि प्रेम गरेको शंका मानि अनेक किसिमका लान्छाना लगाइ विवाद हुँदा भरतले आफ्नो साथमा लगेको धारीलो हतियार चक्कुले मायाको घाटीमा प्रहार गरी हत्या गरेको पाइएको छ’ डिएसपी शाहीले भने ‘मृतकको साथमा रहेकी भदै नेहा लुहारलाई घटनाको बारेमा अन्यलाई जानकारी गराउन सक्ने आशंकाले उनीमाथि पनि ज्यान मार्ने अभियोगले घाँटिमा चक्कु प्रहार गरी गम्भिर घाइते बनाएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।’

फुपुसंग साथी बनेर गएकी नेहा घटनामा बाच्न सफल भएर हाल डडेल्धुरा अस्पतालमा उपचाररत रहेकी छिन । प्रेम, प्रेमिकाको बीचमा बलिको बोको बनेकी नेहाको स्वास्थ्य सुधारोन्मुख भएपनि घाँटीमा भएको गहिरो घाउका कारण राम्रोसंग बोल्न सकिरहेकी छैनन् ।
प्रहरीले अभियुक्त भरत माथि मुलुकी अपराध सहिता २०७४ परिच्छेद १२ को दफा १७७, कतव्य ज्यान शिर्षक र दफा १८३ ज्यान मार्ने उद्योग मुद्धा शिर्षकमा जिल्ला अदालत बैतडी मुद्धा दायर गरेको छ । प्रहरीले मायाको हत्यामा भरत नै संलग्न भएको प्रारम्भिक अनुसन्धानमा खुलेकाले सोमबार अदालतबाट १० दिन म्याद लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
भरत घटना भएको ६ दिनपछि आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका – १८ महेन्द्रनगर बजारबाट पक्राउ परेका थिए । उनीविरुद्ध मायाका दाई टींकु लुहारले मंसिर १५ गते किटानी जाहेरी दिएका थिए ।


