बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जमानी जात्रा लाग्दै


बैतडी : बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जमानी जात्रा लाग्ने भएको छ । दशरथचन्द नगरपालिका २ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा बिहिबार जमानी जात्रा लाग्ने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहरा जानकारी दिए ।


हरेक बर्षको मंसिर शुक्ल पूर्णिमाका दिन निङ्गलाशैनी मन्दिरमा जमानी जात्रा लाग्ने गरेको उनले बताए । अन्य समयमा लाग्ने जात्रामा मन्दिरमा पशुबलि हुने भएपनि यो जात्रामा कुनै प्रकारको बलि नहुने उनले बताए । जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रही आएको उनको भनाइ छ ।



निङ्गलाशैनी भगवतीको भण्डार प्रर्दशन हुने भएकाले टाढा टाढाबाट समेत भक्तजनहरु दर्शनका लागि आउने गरेको बताइएको छ । हरेक बर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको बिशेष पूजाआजा हुने गरेको छ ।


जात्रामा निङ्गलाशैनी भगवतीको उत्पतिसंग जोडिएको ठाडो खेल खेल्ने चलन रही आएको छ भने ड्यौडा समेत खेल्ने गरिएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष बोहराले बताए ।
निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुर्दशी, असोजको नवरात्र र धान्य पूर्णिमका दिन बिशेष पूजाआजा सहित जात्रा लाग्ने गर्दछ । जात्रामा नेपालका मात्रै नभएर दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत आउने गरेका छन् ।



