बंगलादेशसँगै रोहित शर्माको आक्रमक ब्याटिङले पनि जित दिलाउन सकेन ! बंगलादेशले खोस्यो भातरसँगको सिरिज

काठमाडौं: घरेलु टोली बंगलादेशले भारतसँगको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै जितेको छ। दोस्रो एकदिवसीय खेलमा घरेलु टोली बंगलादेशले भारतलाई ५ रनले पराजित गरि सिरिज २–० ले जितेको छ । शेरे बंगला नेशनल स्टेडियममा बंगलादेशले दिएको २ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६६ रन बनाउन सक्यो।

उसका लागि श्रेयस अय्यर र कप्तान रोहित शर्माले उत्कृष्ट पारी खेले। तर टिमलाई जित दिलाउन भने सकेनन्। अय्यरले १०२ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ८२ रनको योगदान दिए। रोहितले २८ बलमा ५ छक्का र ३ चौकासहित अविजित ५१ रनको आक्रामक पारी खेले। चोटका कारण रोहित नवौं नम्बरमा ब्याटिङ गर्न आएका थिए।

त्यस्तै, अक्षर पटेलले ५६, केएल राहुलले १४, वासिङ्टन सुन्दर र दीपक चाहरले ११–११ रन जोडे। बाँकी ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। बंगलादेशका लागि इबादोत हुसेनले ३, शाकिवअल हसन, मेहदी हसन मिराजले २–२, मुस्तफिजुर रहमान र महमुदुल्लाहले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७१ रन बनायो। उसका लागि अलराउन्डर मेहदी हसन मिराजले शतकीय पारी खेले।

आठौं नम्बर ब्याटिङ गर्न आएका उनले ८३ बलमा ८ चौका र ४ छक्कासहित अविजित १ सय रनको योगदान दिए। उनको यो एकदिवसीय अन्तर्राष्ट्रिय करियरको पहिलो शतक हो।

यस्तै, महमुदुल्लाहले पनि राम्रो इनिङ्स खेले । उनले ९६ बलमा ७ चौकाको सहयोगमा ७७ रन बनाए। ६९ रनमा ६ विकेट गुमाएको बंगलादेशको पारीलाई महमुदुल्लाह र मिराजले सम्हालेका हुन्। सातौं विकेटका लागि दुवैले १ सय ४८ रनको साझेदारी गरे।

त्यस्तै, नजमुल हुसेन शान्तोले २१, नसुम अहमदले अविजित १८, मुस्फिकुर रहिमले १२ र अनामुल हकले ११ रन जोडे। भारतका लागि वासिङ्टन सुन्दरले ३, उमरान मलिक र मोहम्मद सिराजले २–२ विकेट लिए।

योसँगै तीन खेलको सिरिजमा बंगलादेशले २–० को अग्रता लिएको छ । सिरिजको पहिलो खेलमा घरेलु टोलीले १ विकेटको रोमान्चक जित हासिल गरेको थियो। यी दुई देशबीचको तेस्रो तथा अन्तिम खेल आगामी शनिबार रहेको छ ।

Loading...