प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जमानी जात्रा

बैतडी:बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज दर्शनार्थीकाे घुइँचो लागेकाे छ । उक्त मन्दिरमा आज जमानी जात्रा भएकाेले दर्शनार्थीकाे घुइँचो लागेकाे स्थानीय दीपेन्द्र बाेहराले जानकारी दिनुभयाे ।

हरेक बर्षको मंसिर शुक्ल पूर्णिमाका दिन निङ्गलाशैनी मन्दिरमा जमानी जात्रा लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो । जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रही आएको छ ।

निङ्गलाशैनी भगवतीको भण्डार प्रर्दशन हुने भएकाले टाढा टाढाबाट समेत भक्तजनहरु दर्शनका लागि आउने गरेको बताइएको छ । हरेक बर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको बिशेष पूजाआजा हुने गरेको छ ।

जात्रामा निङ्गलाशैनी भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत आउने गरेका छन् । जात्रामा निङ्गलाशैनी भगवतीको उत्पतिसंग जोडिएको ठाडो खेल र ड्यौडा समेत खेल्ने गरिएको छ ।

अन्य समयमा लाग्ने जात्रामा मन्दिरमा पशुबलि हुने भएपनि यो जात्रामा कुनै प्रकारको बलि हुदैन ।

जात्राअवधिभर देहिमाडाैं क्षेत्रमा मदिरा बेचविखन तथा सेवनमा राेक लगाइएको छ ।
निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुर्दशी, असोजको नवरात्र र धान्य पूर्णिमका दिन बिशेष पूजाआजा सहित जात्रा लाग्ने गर्दछ ।

Loading...