विश्वका धनि मानिएका एलन मस्कलाई उछिन्दै अर्नाल्ट बने विश्वकै धनी व्यक्ति


काठमाडौं: लुइस भितनका मालिक बर्नार्ड अर्नाल्ट विश्वकै धनी व्यक्ति बनेका छन् । फोर्ब्सको रियल-टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्ड अघि देखिएका छन् । अर्नाल्टको हालको कुल सम्पत्ति १८६.२ अर्ब डलर रहेको छ भने मस्कको सम्पत्ति १८५.४ अर्ब डलरमा झरेको छ ।


फोर्ब्सका अनुसार लुइस भितनको शेयर बढ्दा अर्नाल्टको सम्पत्ति लगातार बढिरहेको छ भने टेस्लाको शेयरमा नाटकीय गिरावट आउँदा मस्कको सम्पत्ति लगातार घटिरहेको छ । २०२२ मा मात्र टेस्लाको शेयरमा ५६ प्रतिशतले गिरावट आयो । ट्वीटर प्रयोग गर्दै आफ्नो कम्पनीको शेयर बढाउने मस्कको रणनीतिले यसपटक टेस्लामा ठूलो असर गरेको छ ।



२०२१ को नोभेम्बरमा मस्कको कूल सम्पत्ति ३४० अर्ब पुगेको थियो । ट्वीटरको शेयर खरिदका लागि ४४ अर्ब डलर जम्मा गर्न मस्कले हालसालै टेस्लाको चार अर्ब डलर बराबरको स्टक बेचेका थिए ।


टेस्लाको शेयर ओरालो लाग्दा मस्कको सम्पत्ति घटिरहेको बताइएको छ । ७३ वर्षीय बर्नार्ड अर्नाल्ट चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् भने ५१ वर्षीय मस्क टेस्ला र स्पेसएक्सका सिइओ हुन् ।

