कैलालीमा यस वर्ष ४ सय दम्पतिको निःशुल्क स्थायी बन्ध्याकरण गरिने योजना ल्यायो


अत्तरिया : कैलालीमा चालु आर्थीक बर्षमा ४ सय जनाको स्थायी परिवार नियोजन (स्थायी बन्ध्याकरण) गरिने भएको छ । स्वास्थ्य कार्यालय कैलाली र परिवार नियोजन संघ कैलालीले जिल्लामा चालु आर्थिक बर्षमा सन्तानको रहर पुगेका ४ सय जनाको स्थायी बन्ध्याकरण गर्न लागेको हो ।


स्वास्थ कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलट नारायण चापागाईले कार्यालयले सन्तानको रहर पुगेका ४ सय दम्पतिको निःशुल्क स्थायी बन्ध्याकरण गर्ने लक्ष्य लिएको बताए । जस अन्तरगत मिनिल्याप र भ्यासेक्टोमी गराइने छ ।



परिवार नियोजन अधिकृत चापागाईले कैलालीका १२ वटै पालिकामा मिनिल्याप र भ्यासेक्टोमी क्याम्प सञ्चालन गरिने बताए ।


‘सो लक्ष्य अन्तरगत अहिले सम्म हामीले चुरे गाउँपालिका र गोदावरी गाउँपालिकामा क्याम्प संचालन गरिसकेका छौ’ उनले भने ‘अब नियमित रुपमा मोहन्याल गाउँपालिका बाहेकका पालिकामा क्याम्प संचालन गरिने छ ।’ उनले मोहन्याल गाउँपालिकामा पुर्वाधारको अभावका कारण क्याम्प संचालन गर्न नगरिने बताए ।
कार्यक्रम अन्तरगत चुरे गाउँपालिकाको सहजपुरमा शुक्रबार शिविर संचालन गरिएको थियो । जसमा २२ जना सहभागि भएका थिए भने गोदावरीमा शनिबार संचालन गरिएको शिविरमा २७ जनाले सेवा लिएका छन । जसमा २४ जना महिलाले मिनिल्याप र ३ जना पुरुषले भ्यासेक्टोमी गराएको परिवार नियोजन अधिकृत चापागाईले बताए ।

स्वास्थ्य कार्यालय कैलालीले गत आर्थिक बर्ष कैलालीमा संचालन गरेको शिविरमा २४७ जनाले स्थायी बन्ध्याकरण गराएका थिए ।
मासिक शिविर संचालन गर्नमा जोड
परिवार नियोजन अधिकृत चापागाईले गोदावरी नगरपालिकामा स्थायी बन्ध्याकरणका लागि राम्रो सहभागिता हुने गरेको बताए । उनले गोदावरी नगरपालिकाले शिविर संचालनका लागि सक्रिय रुपमा सहभागि भएकाले यहाँ राम्रो सहभागिता हुने गरेको बताए ।
परिवार नियोजन संघ कैलालीका बरिष्ठ शाखा प्रवन्धक चेत राज फुलाराले गोदावरीमा नगरपालिका र मालाखेती अस्पतालको सहयोग भएको खण्डमा स्थायी बन्ध्याकरण सेवालाई मासिक रुपमा पनि संचालन गर्न सकिने बताए ।
‘यो सेवालाई मालाखेति अस्पतालमा नियमित रुपमा संचालन गर्न सकेको खण्डमा यसलाई पछि सेवा सेन्टरको रुपमा पनि विकास गर्न सकिन्थ्यो होला’ उनले भने ‘यहाँ पुर्वाधार पुरै छ । यहाँ महिनामा एक दिन पनि यो सेवा संचालन गर्न सके यहाँ परिवार नियोजनको पहुच बढ्न सक्छ ।’
अस्पतालका अध्यक्ष नर बहादुर मौनीले मालाखेती अस्पतालमा मासिक रुपमा परिवार नियोजन सेवा संचालन गर्नको लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए ।
‘म आफै पनि परिवार नियोजन क्षेत्रको विज्ञ पनि हो’ उनले भने ‘म यस अस्पतालमा परिवार नियोजन सेवाको मासिक रुपमा सेवा सुचारु हुन्छ भने सबै प्रकारका सहयोग गर्न तयार छु ।’
उनले स्थायी बन्ध्याकरणमा महिला मात्रै नभएर पुरुषको पनि सहभागिता बढाउन सके अझै राम्रो हुने बताए । उनले भने ‘हामी पुरुष भाग्यमानी नै हौ । बच्चा जन्माउने पनि महिला नै हुन्छन । हुर्काउने पनि महिला, परिवार नियोजन पनि महिलाले गर्नुपर्ने अवस्था छ ।
गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकायाले मालाखेती अस्पतालमा नियमीत परिवार नियोजन सेवा सुचारु गर्नका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफूहरु तत्पर रहेको बताईन् । उनले मासिक रुपमा सेवा सूचारु गर्नको लागि आवश्यक सहयोग गरिने बताईन् ।
स्थायी बन्ध्याकरण शिविरमा महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुका लागि भ्यासेक्टोमी गरिदै आएको छ ।
हाल नेपालमा परिवार नियोजन सेवा, जानकारी तथा परामर्श सबै सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क प्रदान गरिन्छ । नेपालमा अस्थाई तथा स्थायी गरि ८ वटा विभिन्न आधुनिक परिवार नियोजनको साधन÷बिधी उपलब्ध छन । परिवार नियोजनको प्रयोगले बार्षिक ३० प्रतिसतसम्म मातृ मृत्यु घटाउने तथ्याङ्क छ ।

