कञ्चनपुरबाट लागूऔषध सहित ३ जना पक्राउ


कञ्चनपुर: कञ्चनपुरबाट लागूऔषध सहित ३ जना पक्राउ परेका छन । पुनर्वासबाट १ जना र भीमदत्त नगरपालिकाबाट २ जना पक्राउ परेका छन ।


पुनर्वास नगरपालिका–६ बाट सशस्त्र प्रहरीले अवैध लागूऔषध (खैरो हेरोइन)सहित शुक्लाफाँटा नगरपालिकाकी उपमेयर कल्पना जोशी (पन्त)का ३० वर्षीय छोरा पंकज पन्तलाई पक्राउ गरेको हो ।



हिजो (शनिबार) दिउँसो सशस्त्र प्रहरीको पुनर्वासस्थित बोर्डर आउटपोष्ट (बीओपी)बाट खटिएको टोलीले उनलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । भन्सारस्थित चेक प्वाइन्टबाट शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर घर भएका पन्तलाई प्रहरीले पक्राउ गरिएको हो । उनको साथबाट २०.४ ग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।


उनको साथबाट से ३ प ८६९१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ । पन्तले पुनर्वाससँग सीमा जोडिएको भारतको बसहीस्थित मिलन बजारबाट लागूऔषध खरिद गरी ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पन्तलाई प्रहरीले थप अनुसन्धानका लागि हिजो नै ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाएको छ ।
यस्तै शनिबार नै भीमदत्त नगरपालिका–३ जनज्योति चोकबाट स्थानीय २७ वर्षीय दिनेश कुँवर र सोही नगरपालिका–४ बस्ने ३८ वर्षीय अनिलसिंह पक्राउ परेका छन ।

लागूऔषध नियन्त्रण ब्युरो कञ्चनपुरबाट खटिएको प्रहरीले दिनेशलाई १ ग्राम ९५ मिलिग्राम र अनिललाई ३ ग्राम ९ मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो ।


