पत्रकार खेम ढुङ्गानालाई मेयरले बन्धक बनाएको घटनाको छानबिन गर्न माग


अत्तरिया : नेपाल पत्रकार महासंघ कैलाली शाखाले न्यूज ट्वान्टी फोर टेलिभिजनका पत्रकार खेम ढुङ्गानालाई मेयरले बन्धक बनाएको घटनाको छानबिन गर्न माग गरेको छ ।


पत्रकार महासंघ कैलाली शाखाले एक प्रेस विज्ञप्ती जारी गर्दैै पत्रकार ढुङ्गानालाई लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले होटलमा बन्धन बनाएको घटनाको छानबिन गर्न माग गरेको हो ।



कैलाली शाखाका अध्यक्ष हिमालय जोशीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा मेयरले ढुङ्गानालाई बन्धक बनाएर खिचेको भिडियो डिलिट गराएर हातपात गरेको प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।


‘मेयर शाहीले सरकारी स्रोत साधनको दुरुपयोग गरिरहेको सुचना पछि त्यसको समाचार बनाउन भिडियो रेकर्ड गरेको पत्रकार ढुङ्गानाले बताएका छन’ प्रेस विज्ञप्तीमा भनिएको छ ‘पत्रकार ढुङ्गानाले खिचेको सबै फोटो र भिडियोलाई मेयर शाहीले डिलिट गराएको घटनाको पत्रकारमाथि दुव्यर्वहार र अपमान मात्र नभई प्रेस स्वतन्त्रता माथिको समेत प्रहार हो भन्ने हाम्रो ठहर छ ।’
विज्ञप्तीमा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षकको कमान्डको टोली सम्बन्धीत स्थलमा पुग्दा पनि प्रहरी मुखदर्शक बनेको पत्रकार डुङ्गानाले बताएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ ‘आगामी दिनमा यस्ता खलका प्रेस स्वतन्त्रता विरोधी गतिविधि हुन नदिन तथा पत्रकारको सुरक्षाका लागि गम्भीर बन्न स्थानीय प्रशासन लगायतका सम्बद्ध निकायलाई पत्रकार महासंघ कैलाली आग्रह गर्दछ ।’


