फिफा विश्वकप फुटबलमा क्रोएसिया माथी सानदार जीत निकाल्दै अर्जेन्टिना फाइनलमा प्रबेश


काठमाडौं: साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो।


अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेजले दुई गोल गरे । कप्तान लियोनल मेस्सीको नाममा एक गोल रह्यो । खेलको ३४ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।



क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।


विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल हो । मेस्सीले गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हुन् । मेस्सीले यस खेलबाट विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानमा समेत बराबरी गरेका छन् ।
मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबर गरेका हुन् ।खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए। काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एकल प्रयासमा गोल गरे ।

त्यसपछि खेलको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० गोलको सहज जित दिलाए । उनले मेस्सीले उपलब्ध गराएको सुन्दर पासमा सहजै गोल गरे ।
अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । यस हारसँगै क्रोएसियाको विश्वकप यात्रा भने टुंगिएको छ । साविक विजेता फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।
पछिल्लोपटक ३६ खेलसम्म अपराजित अर्जेन्टिना विश्वकपको पहिलो खेलमा साउदीसँग अनपेक्षित हार हुँदा कीर्तिमानबाट चुकेको थियो। तर त्यसपछिका खेलमा अर्जेन्टिनाले लगातार सुधार गरिरहेको छ।
क्वार्टरफाइनलमा पनि नेदरल्यान्ड्सविरुद्ध २–० को अग्रता बनाइसकेको थियो। तर अन्तिम १० मिनेट सम्हालिन नसक्दा खेल बराबरीमा पुग्यो र जितका लागि पेनाल्टीको सहारा लिनुपर्यो।
त्यसअघि भने अर्जेन्टिनाले हरेक टोलीलाई २ गोल हानेको छ। समूह चरणको दोस्रो खेलमा मेक्सिकोलाई २–० ले हराएको अर्जेन्टिनाले अन्तिम खेलमा पोल्यान्डलाई पनि सोही अन्तरमा हराएको थियो। अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ ले हराएको थियो।
पहिलो विश्वकपमै फाइनलमा पुगे पनि अर्जेन्टिनाले ४८ वर्षपछि मात्रै उपाधि जितेको थियो। १९७८ मा पहिलो उपाधि जितेको अर्जेन्टिनाले ८ वर्षपछि अर्को उपाधि थप्यो।
त्यसलगतै फेरि फाइनलमा पुगे पनि साविक उपविजेता जर्मनीसँग हारेको थियो। त्यसपछि २०१४ मा विश्वकपमा स्थान बनायो तर पूरानै टोली जर्मनीले उपाधि यात्रामा धक्का दिएको थियो। १९९० पछि भने अर्जेन्टिना दोस्रोपटक फाइनलमा पुगेको हो।

