हामीलाई जीत चाहिएको होइन न्याय र निष्पक्षता चाहिएको छ: टिम प्रशिक्षक दिपेन्द्र सिंह धामी
आयोजक प्रति सामाजिक सञ्जालमा चर्को आलोचना


बैतडी:


आइतबार देखि बैतडीमा जारी तेज बहादुर चन्द स्मृति अन्तर पालिकास्तरीय भलिबल प्रतियोगितामा विवाद सृजना भएको छ । मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा जिल्लाको दशरथचन्द नगरपालिका ५ मा रहेको दशरथचन्द खेलमैदान सुन्दरखालीमा जारी अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा हिजो विवाद आएको हो ।



अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा विवाद हुँदा सिगास गाउँपालिकाको टिम प्रतियोगिता छोडेर बाहिरिएको छ। हिजोको सेमिफाइनल खेलमा सिगास गाउँपालिका र दशरथचन्द नगरपालिकाबीच खेल चलिरहेको समयमा विवाद भएपछि प्रतियोगिता बहिष्कार गरेर सिगास गाउँपालिकाको भलिबल टिम बाहिरिएको हो ।


खेलका क्रममा पहिलो र दोस्रो सेट सिगास गाउँपालिका तथा तेस्रो र चौथो सेट दशरथचन्द नगरपालिकाले जितेको र पाँचौ सेटमा सिगास गाउँपालिका र दशरथचन्द नगरपालिका २ – ३ स्कोर बनाएर खेल चलिरहेको थियो ।
चौथो चेक आउट र पाँचौ नेट छोएर फल हुँदा समेत रेफ्रीले सहि निर्णय नगरेको भन्दै सिगास गाउँपालिकको टिमले प्रतियोगिता बाट बाहिरिनु परेको टिम क्याप्टेन गोविन्द साउदले बताउनुभयो ।

यसैबीच रेफ्रीले पक्षपाती निर्णय गरेको भन्दै खेल छोडेर बाहिरिएको सिगास गाउँपालिकाको भलिबल टिमका प्रशिक्षक दिपेन्द्र सिंह धामीले हामीलाई जीत चाहिएको होइन न्याय र निष्पक्षता चाहिएको हो भन्दै सामाजिक सञ्जालमा लेख्नु भएको छ ।
उहाँले अगाडि लेखेका छन् खेलकुदका माध्यमबाट सामाजिक सद्भाव सहितको समानता अनि संस्कार युक्त बातावरणको विकास होस चाहेका हौँ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन्।
“हामीलाई जित चाहिएको होइन न्याय र निष्पक्षता चाहिएको छ । गढी र गढ नामको पुरातनवादी दासत्व कदापि स्वीकार्य हुन सक्दैन । खेलकुदका माध्यमबाट सामाजिक सद्भाव सहितको समानता अनि संस्कारयुक्त वातावरणको विकास होस भन्ने चाहेका हौँ । तर जुन हिजोको खेलमा देख्न सकिएन। बैतडीको भलिबलमा हुँदै आएको विभेद र खेलकुदमा हुने राजनितिको चाडै अन्त्य होस । कुनै पनि खेल खेलाउदा रेफ्रि निष्पक्ष हुनुपर्छ। सबै खेलाडी हरुलाई हेर्ने नजर समान हुनुपर्छ । बैतडीमा विगत केही बर्षयता भलिबल क्षेत्रमा हुने एकल निर्णय र मनोमानीले गर्दा बैतडीको भलिबलको छवि खस्किदै गएको सर्वविदितै छ। खेलाडी हरूलाइ कसैले व्यक्तिगत रूपमा कार्वाही गर्ने साहस नगर्दा हुन्छ महाशय।”
यसैबीच रेफ्रीले पक्षपाती निर्णय गरेकाले आफूहरुले प्रतियोगिता छोडेको पनि उहाँको भनाइ छ । रेफ्री परिवर्तन गरेर पुनः खेल खेलाए आफूहरु खेल्न तयार रहेको पनि सिगासका टिम क्याप्टेन गोविन्द साउदले बताउनुभयो ।
आधा घण्टा स्थगित भएको खेलमा रेफ्रीले खेललाई निरन्तर गर्न अनुरोध गर्दा पनि सिगास कोर्टमा नआएपछि दशरथचन्द नगरपालिकालाई भने विजेता घोषणा गरि सकिएको छ।
सिगास गाउँपालिका र दशरथचन्द नगरपालिका बिच चलिरहेको खेलको बिचमा रेफ्रीले पक्षपाती निर्णय गरेको भन्दै सिगास गाउँपालिकको टिमले प्रतियोगिता बहिष्कार गरेपछि विभिन्न व्यक्तिहरुले आयोजक प्रति सामाजिक सञ्जालमा चर्को आलोचना गरेका छन् ।

