साविक विजेता फ्रान्सले मोरक्को माथी सानदार जित निकाल्दै फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश


काठमाडौं: साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । लगातार दोस्रो पटक फाइनलमा प्रवेश गर्दै फ्रान्सले नयाँ कीर्तिमान बनाएको छ।


अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक प्रवेश गरिसकेको छ ।



अल बायत स्टेडियममा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गरे । बल पोसेसनमा पकड जमाएको मोरक्कोविरुद्ध फ्रान्सले दुबै हाफमा एक एक गोल गरेको थियो ।


खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २-० को जित दिलाए।
उनी ७९ औं मिनेटमै ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो।

यसअघि फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई हराएर मोरक्कोसँगको भेट पक्का गरेको थियो । मोरक्कोले पोर्चुगललाई हराएर पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको थियो ।

