सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस भित्र संसदिय दलको नेताका लागि ६ जना आकांक्षी

धनगढी : सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि ६ जनाले आकांक्षा देखाएका छन । संसदीय दलको नेता नै मुख्यमन्त्रीको दावेदार हुने भएकाले सरकारको तेतृत्व गर्ने चाहना बमोजिम ६ जना नेताले संसदीय दलको नेताका लागि आकांक्षा देखाएका हुन ।

आकांक्षिहरु अहिले संसदीय दलको नेताका लागि शक्ति केन्द्र धाइरहेका हुन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बहादुरसिंह थापा, कञ्चनपुरकै निर्वाचन क्षेत्र नं. १ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित दिवानसिंह बिष्ट, कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री समेत रहेका अछाम निर्वाचन क्षेत्र नं. १(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित मेघराज खड्का, कैलाली निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित कमल बहादुर शाह, कैलाली निर्वाचन क्षेत्र नं. ४ (२) बाट निर्वाचित प्रकाश बहादुर बम र कैलाली निर्वाचन क्षेत्र नं. ५ (२) बाट निर्वाचित प्रकाश बहादुर देउवाको नाम संसदीय दलको नेताका लागि चर्चामा छ ।

कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका बहादुरसिंह थापाले आफू मुख्यमन्त्रीको आकांक्षी रहेको बताए । २०७० मा संविधानसभा सदस्य भएको र कञ्चनपुर कांग्रेसको ३ कार्यकाल सभापति भइसकेकाले आफ्नो दाबी स्वाभाविक रहेको उनी बताउँछन् ।
हाल काठमाडौंमै रहेका थापाले भने, ‘हामी गठबन्धनबाटै चुनाव लड्यौं र निर्वाचित पनि भयौं । यदि गठबन्धनभित्र कांग्रेसले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने निर्णय भएको अवस्थामा मैलै संविधानसभामा निर्वाह गरेको भूमिका र पार्टीको ३ पटक जिल्ला सभापति भइसकेकाले मेरो दाबी स्वाभाविक रुपमा हुन जान्छ ।’

कैलाली निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित कमल बहादुर शाहले संसदीय दलको नेताको दाबी गर्दै भने, ‘म त निर्वाचनअघि देखि नै मुख्यमन्त्रीको दाबेदार रहेको भन्दै आएको छु । अर्कोकुरा, पार्टीमा सबैको लगानी छ । तर म विद्यार्थी कालदेखि निरन्तर इमानदारिताका साथ लागेको छु । समाजमा योगदान पनि छ मेरो । जुनकारण नेतृत्व लिन सक्छु ।’

संसदीय दलको नेता बन्ने दौडमा रहेका मेघराज खड्काले एक भन्दा बढी आकांक्षी हुनु स्वाभाविक रहेको बताए । पार्टीले मूल्यांकन गरेको अवस्थामा आफूले जिम्मेवारी निर्वाह गर्न सक्ने उनको भनाइ छ । खड्का कांग्रेसका सुदूरपश्चिम महामन्त्री समेत हुन् ।

प्रतिनिधिसभामा आकांक्षी रहेको तर गठबन्धनका शीर्ष नेताले मुख्यमन्त्री बनाउने समझदारी गरेकै कारण प्रदेशसभाको निर्वाचन लडेको र निर्वाचित भएको बताउँछन् दिवानसिंह विष्ट ।

कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका कैलाली ५ (२)बाट निर्वाचित प्रकाश देउवाको नाम पनि संसदीय दलको नेताको रुपमा चर्चामा छ । उनी भने, गठबन्धनभित्र अझै टुङ्गो नलागेकोले अझै दाबी गर्ने बेला भइनसकेको बताउँछन् । उनले आफूले अझैसम्म कुनै दाबी अगाडि नसारेको सुनाउँछन् ।

Loading...