मोरक्कोलाई पराजित गर्दै साविक उपविजेता क्रोएशियाले विश्वकपमा दोस्रोपटक तेस्रो स्थानमा

काठमाडौं: मोरक्कोलाई पराजित गर्दै साविक उपविजेता क्रोएशियाले विश्वकपमा तेस्रो स्थान ओगटेको छ। अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो।

खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २–१ को अग्रता दिलाएका हुन्। त्यसअघि खेलको सातौँ मिनेटमा नै १–० ले पछि परेको मोरक्कोका लागि अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए। खेलको नवौँ मिनेटमा गोल गर्दै उनले मोरक्कोलाई खेलमा फर्काएका थिए।

खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै क्रोएशियालाई सुरुवाती अग्रता दिलाएका थिए। खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।

विश्वकपमा पहिलो पटक सेमिफाइलन खेलेको अरबी टोली मोरक्को चौथो स्थानमा चित्त बुझाएको छ। गत संस्करण फ्रान्ससँग पराजित हुँदै विश्वकपको उपाधि नजिक पुगेर पनि टाढिएको क्रोएसिया यो पटक सेमिफाइनलबाट अघि बढ्न सकेन। सेमिफाइनल खेलमा क्रोएशिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो।

उता क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराउँदै पहिलो पटक अन्तिम ४ मा स्थान बनाएको थियो। तर सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै मोरक्कोले तेस्रो स्थानका लागि क्रोएसियासँग खेलेको थियो। क्रोएसिया तेस्रो भएर २ करोड ७० लाख डलर र मोरक्को चौथो भएर २ करोड ५० लाख डलर पाएको छ।

विश्वकपबारे विमलले गरेको त्यो ‘भविष्यवाणी’ मिल्ने सम्भावना

फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ कतारमा जारी छ। मंसिर ४ गतेदेखि सुरु भएको विश्वकप आइतबार सकिँदैछ। विश्वकपका म्याचहरू निकै प्रतिस्पर्धात्मक भए। साना देशले चर्चित राष्ट्रहरूलाई टक्कर दिए। यसपटकको अप्रत्याशित नतिजा पनि आए।

एसियाली मुलुक कतारमा पहिलोपटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरे। सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको थियो। आठ रंगशालामा आयोजना भइरहेको विश्वकपको फाइनल भोलि आइतबार हुँदैछ।

विश्वकप फुटबल नेपालमा पनि धेरैले हेर्ने गर्छन्। नेपालमा हिमालयन एचडी टीभीले प्रत्यक्ष प्रशारण गरिरहेको छ। त्यसले पनि सबै नेपालीहरू आफ्नै घरमा बसेर म्याच हेरिरहेका छन्। र, आ–आफ्नो टिमलाई समर्थन गरिरहेका हुन्छन्। विश्वकप चारवर्षमा आउने एक महाकुम्भ मेलाजस्तै हो।

यसैक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका चर्चित स्ट्राइकर विमल घर्तीमगरले विश्वकका दौरानमा गरेको एक भविष्यवाणी मिल्ने सम्भावना छ। उनी अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका ठूला फ्यान हुन्। विमल पनि मेस्सी जर्सी नम्बर १० लगाएर खेल्ने गर्छन्। विमल नेपाली फुटबल समर्थकमाझ लोकप्रिय नाम हो।

विमलले यसपटकको विश्वकप अर्जेन्टिना फाइनल पुग्ने र जित्ने अनुमान गरेका थिए। एक युट्युब च्यानललाई दिएको अन्तर्वार्ताका क्रममा विमलले भनेका थिए, ‘म मेस्सीको फ्यान हुँ। त्यसैले म यसपटक पनि अर्जेन्टिनालाई समर्थन गरिरहेको छु। विश्वकप हेरिरहेको छु। मेस्सी टिमलाई राम्रोसँग ह्यान्डिल गर्न सक्छन्।, अर्जेन्टिनाले यसपटकको विश्वकप जित्न सक्छ।’

फिफा विश्वकपको उपाधिका लागि आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा हुँदैछ। फाइनल म्याच नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ। फ्रान्सले लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल खेल्दैछ। सन् २०१८ को विश्व विजेता फ्रान्सले कतार विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँग खेल्न लागेको हो।

साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ । डिएगो म्याराडोनाको नेतृत्वमा विश्वकप जित्यता अर्जेन्टिनाले ३६ वर्षसम्म उपाधि जित्न सकेको छैन । पछिल्लो पटक २०१४ मा फाइनल पुगेपनि लिओनल मेसीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो ।

फेरि एक पटक मेसीले अर्जेन्टिनालाई फाइनल पुर्‍याएका छन् र अन्तिम विश्वकप खेलिरहेका मेसीका लागि विश्वकप जित्नको लागि अर्को अवसर छ । फ्रान्स भने पछिल्लो सात मध्ये चौथो पटक विश्वकप फाइनल पुगेको हो । १९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा भने इटलीसँग पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन फ्रान्स लगातार दोस्रो उपाधि जित्ने दोस्रो टिम बन्ने अभियानमा छन् । विश्वकपको इतिहासमा ब्राजिलले मात्र लगातार दुई (सन् १९५८ र सन् १९६२) उपाधि जितेको छ ।

फ्रान्स र अर्जेन्टिनाबीचको विगत भने अर्जेन्टिनाको पक्षमा छ । अहिलेसम्म यी दुई टोलीबीच कूल १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल मात्र जितेको छ । यस्तै विश्वकपमा भएका प्रतिस्पर्धामा पनि अर्जेन्टिना अगाडि छ । विश्वकपमा तीन खेलमा भेट हुँदा अर्जेन्टिनाले २ खेल जितेको छ भने फ्रान्सले १ खेल जितेको छ । पछिल्लो पटक २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको थियो ।

Loading...