आज विश्वकप फुटबलको रोमाञ्चक फाईनल खेल हुदै, अहिले सम्मको अवस्थामा यी दुई टिमको ‘हेड टु हेड’ नतिजा
काठमाडौं : कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा हुँदैछ। फाइनल म्याच नेपाली समयअनुसार आज राति ८ः४५ बजेदेखि सुरु हुनेछ।


साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ । डिएगो म्याराडोनाको नेतृत्वमा विश्वकप जित्यता अर्जेन्टिनाले ३६ वर्षसम्म उपाधि जित्न सकेको छैन । पछिल्लो पटक २०१४ मा फाइनल पुगेपनि लिओनल मेसीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो ।




फेरि एक पटक मेसीले अर्जेन्टिनालाई फाइनल पुर्याएका छन् र अन्तिम विश्वकप खेलिरहेका मेसीका लागि विश्वकप जित्नको लागि अर्को अवसर छ । फ्रान्स भने पछिल्लो सात मध्ये चौथो पटक विश्वकप फाइनल पुगेको हो । १९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा भने इटलीसँग पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन फ्रान्स लगातार दोस्रो उपाधि जित्ने दोस्रो टिम बन्ने अभियानमा छन् । विश्वकपको इतिहासमा ब्राजिलले मात्र लगातार दुई (सन् १९५८ र सन् १९६२) उपाधि जितेको छ ।


फ्रान्स र अर्जेन्टिनाबीचको विगत भने अर्जेन्टिनाको पक्षमा छ । अहिलेसम्म यी दुई टोलीबीच कूल १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल मात्र जितेको छ । यस्तै विश्वकपमा भएका प्रतिस्पर्धामा पनि अर्जेन्टिना अगाडि छ । विश्वकपमा तीन खेलमा भेट हुँदा अर्जेन्टिनाले २ खेल जितेको छ भने फ्रान्सले १ खेल जितेको छ ।
पछिल्लो पटक २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको थियो । यी दुईबीच १९३० को विश्वकपमा पहिलो पटक भेट भएको थियो । जहाँ अर्जेन्टिनाले प्रान्सलाई १-० ले पराजित गरेको थियो । यस्तै १९७८ को विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई समूह चरणमा ३-१ ले पराजित गरेको थियो । यी दुईबीच बराबरी भएको तीनवटै खेलमा कुनै गोल भएको थिएन ।

फिफा विश्वकप १९३० मा अर्जेन्टिनाले फ्रान्स १–० गोलले हरायो। सन् १९६५ फ्रान्स र अर्जेन्टिनाबीच भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। स्न १९७१ मा भएको फ्रान्स मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाविरुद्ध फ्रान्स ४–३ ले विजयी भएको थियो। १९७१ मा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले फ्रान्सलाई २–० ले हरायो।
१९७२ मा भएको ब्राजिल इन्डेपेन्डेन्स कपअन्तर्गत अर्जेन्टिना र फ्रान्सले गोलरहित बराबरी खेलेका थिए। सन् १९७४ मा फ्रान्सविरुद्ध मैत्रीपूर्ण खेलमा अर्जेन्टिना १–० विजयी भयो। सन् १९७७ मा यी दुई देशबीच भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। सन् १९७८ मा भएको फिफा विश्वकप अर्जेन्टिनाले फ्रान्सलाई २–१ गोलले पराजित गरेको थियो।
१९८६ मा भएका मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाविरुद्ध फ्रान्स २–० गोलले विजयी भएको थियो। त्यसपछि २००७ मा भएको मैत्रीपूर्ण म्याचमा अर्जेन्टिना फ्रान्सविरुद्ध १–० गोलले विजयी भयो। सन् २००९ मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले २–० को जित हात पारेको थियो। र, फिफा विश्वकप २०१८ मा भएको पछिल्लो भेटमा अर्जेन्टिनाविरुद्ध फ्रान्स ४–३ गोल अन्तरले विजयी भएको थियो।

