कैलालीको मालाखेती अस्पतालमा पनि मृत शरिर चिस्यान यन्त्र राखियो
अत्तरिया: कैलालीको मालाखेती अस्पतालमा पहिलो पटक मानव मृत शरिर चिस्यान यन्त्र राखिएको छ । अत्तरियाका व्यवसायी मनोज अग्रवालले अस्पताललाई उक्त यन्त्र प्रदान गरेका हुन । उनले स्वर्गिय बुवा मुलचन्द अग्रवालको सम्झनामा अस्पताललाई उक्त यन्त्र प्रदान गरेको बताए ।


‘करिब २ महिना अघि बुवा बित्नुभएको थियो, दाजुहरु बाहिर बस्ने भएका कारण बुवाको पार्थिव शरिर राख्नलाई मैले यस्तो यन्त्र खोजेको थिए, नेपालमा नभेटाउँदा अन्तमा मैले भारतको पलियाबाट यो यन्त्र भाडाँमा ल्याएर बुवाको पार्थिव शरिर राखेको थिए’ उनले भने ‘बुवाको निधन पश्चात अत्तरियामा पनि यस्तो यन्त्रको आवश्यकता महसुस गरेर मैले भारतकै बरेलीबाट यो यन्त्र ल्याएको हुँ ।’ उनले उक्त यन्त्रलाई करिब १ लाख भारतिय रुपैयामा ल्याएको बताए ।




उनले बुवा बित्दा आफुलाई समस्या भएको र सोही समस्या अरुलाई नहोस भन्नका लागी यो यन्त्र अस्पताललाई हस्तान्तरण गरेको बताए । उनले उक्त यन्त्र बुवाको पुण्यतिथिको अवसरमा अस्पताललाई प्रदान गरेको बताए ।


यसैबिच अत्तरियाकै होटल व्यवसायी हरि गुराँगाईले अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गरेका छन । उनले अस्पतालमा अक्सिजन नहुँदा छट्पटाउनुपरेको अवस्था नदोहोरियोस भनेर अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गरेको बताए । ‘कोरोना महामारीका समयमा म बिरामी हुँदा मलाई थाहा थियो, अक्सिजनको अभावले कस्तो हुँदो रैछ भन्ने कुरा’ उनले भने ‘अक्सिजन अभावका कारण म जस्तै पिडा अरुलाई नहोस भन्नका लागी मैले यो सिलिण्डर अस्पताललाई दिएको हुँ ।’ उनले आफुले जस्तै पिडामा रहेका बिरामीहरुलाई बचाउन सिलिण्डरले योगदान पु¥याउने विस्वास लिएको बताए ।
अस्पताललाई प्रदान गरिएका उक्त सामग्रीहरु हस्तान्तरण गर्दै गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले अस्पतालमा यन्त्रको राम्रो उपयोगीता रहने बताए । ‘अधिकांश मानिसहरु बित्दै गर्दा केही दिनसम्म शव राख्नुपर्ने अवस्था हुन्छ’ उनले भने ‘त्यस्तो अवस्थामा शव राख्ने यन्त्र नहुँदा शव गन्हाउन गन्हाउने र कुहिने सम्भावना हुन्छ, तर यो यन्त्रले १ हप्ता भन्दा बढी समयसम्म पनि पार्थिव शरिरलाई राख्न मिल्ने भएको छ । त्यसैले आगामी दिनमा नगरपालिकामा यसको राम्रो उपयोगीता रहने कुरामा दुई मत छैन ।’ उनले गोदावरीका लागी यन्त्र प्रभावकारी रहने विस्वास व्यक्त गरे ।


