अर्जेन्टिना टिमले फ्रान्ससँग फाइनल खेल्नुअघि मेस्सीबारे ‘बडिगार्ड’ डी पाउलले यस्तो भने
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आज आइतबार राति हुँदैछ। कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ।


३५ वर्षको उमेरमा पनि लियोनल मेस्सीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई फाइनल पुर्याएका हुन्। कतारमा जारी फिफा विश्वकपमा मेस्सीले ५ गोल गर्नुका साथै ३ असिस्ट गरेका छन् । सर्वाधिक गोल गर्नेमा उनी फ्रान्सका केलिएन एमबाप्पेसँगै शीर्षमा छन् भने असिस्टमा एन्टोनी ग्रीजमन र ह्यारी केन सँगै छन् । मेसी ३५ वर्षको उमेरमा विश्वकपमा ५ गोल गर्ने पहिलो खेलाडीसमेत हुन् ।




यस पटक मेसी लयमा देखिएका छन् भने अर्जेन्टिनाको टिम पनि विश्वकप जित्नका लागि एकजुट भएर लागेको छ । त्यसमा पनि मेसीलाई यस्तो प्रदर्शनका लागि सबैभन्दा धेरै सहयोग गर्ने खेलाडी रोड्रिगो डी पाउल हुन् । एट्लेटिको मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने २८ वर्षीय डी पाउललाई मेस्सीको अघोषित बडिगार्ड नै भनिन्छ ।


खेलदेखि प्रशिक्षणसम्म मेस्सीलाई सुरक्षा प्रदान गर्ने जिम्मेबारी उनी डी पाउलले पाएका छन् । मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै गोल गर्नका लागि डी पाउललगायत टिममेटले उनलाई खुल्ला खेल्न अवसर दिएका छन् । यतिमात्र होइन मेस्सीलाई विपक्षी खेलाडीले फाउल गर्दा होस् या मेस्सीको नजिक कोही आउँदा त्यसबेला सबैभन्दा अगाडि डी पाउल नै पुग्छन् ।
डी पाउलले मेसीको सुरक्षा मात्र गरेका छैनन् जारी विश्वकपमा आफ्नो प्रदर्शन पनि उत्कृष्ट दिएका छन् । उनले जारी विश्वकपमा अर्जेन्टिनाका तर्फबाट सबैभन्दा धेरै ६१.०४ किलोमिटर क्षेत्र कभर गरेका छन् । जर्सी नम्बर ७ लगाएर खेल्ने डी पाउल लियोनल स्कालोनीको मिडफिल्डमा मुख्य खेलाडीको रुपमा छन् । मैदानको हरेक क्षेत्रमा उनी पुगेका हुन्छन् ।

हरेक खेलमा उनको प्रदर्शन उस्तै छ । अन्तिम १६ मा अष्ट्रेलियाविरुद्ध जुलियन अल्भारेजले गोल गर्दा डी पाउलकै भूमिका महत्वपूर्ण थियो । उनले अष्ट्रेलियाली गोलकिपर म्याथ्यु राएनलाई व्यस्त पार्दा अल्भारेजले गोल गरेका थिए । मेसीको प्रदर्शनलाई डी पाउलले सहयोग गरिरहेका छन् ।
मेस्सीको बडीगार्ड
अर्जेर्न्टिनी फ्यानहरुले डी पाउललाई मेस्सीको बडीगार्डको रुपमा लिन थालेका छन् । यद्यपी यो शारीरिक रुपमा नभएर खेलको सन्दर्भमा हो । उनले गत वर्ष कोपा अमेरिकाको सफलतामा मुख्य भूमिका खेलेका थिए र प्रशिक्षक लियोनल स्कालोनीले मध्यपूर्वमा भइरहेको विश्वकपमा अहिलेसम्म उनीमाथि निकै विश्वास गरेका छन् ।
विश्वकपअघि डी पाउलले आफूले मेस्सीलाई केयर गर्ने बताएका थिए । ‘म लिओको धेरै हेरचाह गर्छु । र, मलाई थाहा छ उनले पनि मलाई त्यस्तै गर्छन्,’ विश्वकपको पूर्वसन्ध्यामा डे पउलले भनेका थिए, ‘पीच बाहिर पनि हामी नजिक छौं किनकि हामी रमाइलो गर्छौं, हामी साथी हौं । साथीहरुसँग मेरो राम्रो समय बित्छ ।’
गत सेप्टेम्बरमा होण्डुरसविरुद्धको खेलमा डेइबी फ्लोरेसले मेस्सीलाई फाउल हान्दै लडाएका थिए । त्यसबेला मेसीको रक्षामा सबैभन्दा चाँडै प्रतिक्रिया जनाउन रेफ्रीसम्म पुग्नेमा उनै डी पाउल थिए। खेलपछि समेत रोड्रिगोले मेस्सीको साथ छाडेनन्। होण्डुरसका खेलाडीहरु मेसीसँग फोटो खिचाउन चाहन्थे। होण्डुरसका एक अफिसियलले तस्वीरका लागि मेसीको हातले समातेका थिए । त्यसबेला डी पाउलले हात हटाइदिए।
विश्वकपअघि युएईविरुद्धको अभ्यास खेलपछि अर्को भिडियो भाइरल भएको थियो। जहाँ युएईका खेलाडीहरु मेसीसँग हात मिलाइरहेका थिए। मेसी त्यहाँबाट नहिँडेसम्म डी पाउल पनि त्यहीँ बसिरहेका देखिन्थे। दी एथ्लेटिकले रोड्रिगो डी पाउल अर्जेन्टिनाको बडीगार्ड रहेको र उनको काम मेसीलाई सहज बनाउनु रहेको हेडलाइन राखेर लेख समेत लेखेको थियो।


