सुनचाँदी ब्यापारीमाथी हिजो भएको गोलीकाण्डका बिरुद्ध कैलालीको अत्तरियाका सुनचाँदी पसल बन्द
सिसिटिभि क्यामेरा बिग्रीदा अनुसन्धानमा समस्या


अत्तरिया: कैलालीको अत्तरियामा आइतबार साँझ भएको गोलिकाण्ड पछिसुनचाँदी पसल बन्द गरिएका छन । व्यवसायीहरुले असुरक्षित भएको भन्दै अत्तरिया क्षेत्रका पसल बन्द गरेका हुन ।


आइतबार साँझ अत्तरियाको पुर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली चल्दा घोडाघोडी नगरपालिका – १ सुख्खडका २८ बर्षीय विकाश सुनार घाइते भएका थिए ।



नम्बर नखुलेको सेतो कलरको अपाची मोटरसाइकलमा आएका दुईजनाले सुनारमाथि गोलि चलाएका थिए । उनी दुवै जना फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले बताएका छन ।


प्रहरीले सुनार संग रहेको तयारी सुनका करिब ३२/३३ तोला सुन लुटेर फरार भएको बताएको छ । घाइतेको हाल मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासु देव भट्टले अहिले सिसिटिभी फुटेज चेकजाँ गर्ने काम भइरहेको बताएका छन ।
उनले अत्तरिया चोकमा रहेका सिसिटिभि क्यामेरा बिग्रेका कारण अनुसन्धानमा समस्या भएको बताए । उनले इलाका प्रहरी कार्यालय अगाडी र घटनास्थलमा रहेको सिसिटिभी क्यामेराको अनुसन्धान भइरहेको बताए ।

अत्तरिया चोक र वरपर १६ वटा क्यामेरा जडान गरिएका भएपनि सबै बिग्रीएको अवस्थामा रहेको छन । ति सबै क्यामेराको कन्ट्रोल इलाका प्रहरी कार्यालय मालाखेतीमा रहेको छ ।
अत्तरियाको धनगढी रोडमा सुनचाँदी पसल सञ्चालन गरेका सुनारको पसल बाटै गोली प्रहार गर्नेले पिछा गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । सुनार अत्तरियाको उत्तर बनखेतमा बस्दै आएको थिए । उनी घर नजिकै पुग्ने बेला राजमार्गमै गोली प्रहार भएको हो ।



