बालबालिकाको संरक्षणका लागि सरोकारवाला निकाय बीच सहकार्यमा आवश्यक

धनगढी : बाल अधिकारको संरक्षणका लागि सरोकारवाला निकाय सबैको सहकार्य आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । सिविन नेपाल धनगढीले सोमबार गरेको सुदूरपश्चिमस्तरिय छलफल कार्यक्रमका सहभागिले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख हरि ज्ञवालीले संविधानले दिएको अधिकारलाई स्थानीय तहले पनि कार्यान्वयन गर्नमा जोड दिनुपर्ने बताए । बालबालिकाहरुको संरक्षणका लागि पर्याप्त कानुन हुँदा पनि कार्यान्वनमा समस्या रहेको उनको भनाई रहेको छ । मौलिक कानुनहरु कार्यान्वयन भए बालबालिकाहरुको संरक्षण गर्नमा कुनै समस्या नहुने उनले बताए । उनले बालबालिकाको क्षेत्रमा स्थानीय तहमा वडा अध्यक्षहरु मात्र सक्रिय भएमा पनि धेरै कुरामा सुधार हुने बताए ।
कानुन कार्यान्वयन वडा स्तरबाट नै सुरुवात गर्नुपर्ने उनको जोड रहेको छ । यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर सरस्वती अधिकारीले बालबालिकाहरुको संरक्षणका लागि सबै भन्दा पहिले अभिभावक सचेत रहनुपर्ने बताईन् । उनले पछिल्लो समयमा विद्यार्थीहरु विद्यालयमा पढाई भन्दा पनि परिवार योजना बनाउने हुँदा समस्या हुने गरेको बताईन् । उनले बालबालिकारुहरुको अधिकार संरक्षणका लागि वडाबाट नै अभियान सुरुगर्नुपर्नेमा जोड दिईन् । समाजमा अभिभावकहरु सचेत नहुँदा सम्म बालबालिकाहरुको सुधार नहुने बताईन् ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका अधिकृत टंक विष्टले बालबालिकाहरुको मुद्धामा कुनै एक पक्षको प्रयासले मात्र सफल नहुने बताए । सरोकारवाला निकाय सबैको भूमिका रहने उनको भनाई रहेको छ । कार्यक्रममा सिविन नेपाल नेपालगञ्जका कार्यालय प्रमुख सिद्धराज पनेरुले बाल अधिकारका क्षेत्रमा भएको कानुनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालमा बाल अधिकारका क्षेत्रमा विश्वकै उत्कृष्ट कानुन रहेको बताए । कार्यान्वयन नहुँदा मात्र समस्या हुने गरेको पनेरुले बताए । उनले बालबालिकाको क्षेत्रमा तीन तहका सरकारको अधिकारका बारेमा प्रष्ट पारेका थिए । उनले सुदूरपश्चिममा १३ दशमलव ३ प्रतिशत बाल विवाह हुने गरेको तथ्यांक प्रस्तुत गरेका थिए । सिविन नेपाल धनगढीका प्रमुख हरिलाल चौधरीले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैर सरकार संघ संस्थाका प्रमुख एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

Loading...