कांग्रेस सभापति देउवाले संसदिय दलको नेताका लागि उम्मेदवारी फिर्ता लिनेमा विश्वस्त छु : गगन थापा
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताउनुभएको छ ।


मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै कांग्रेसहरुमा खुशी र उत्साह हुने बताउनुभयो ।




महामन्त्री थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि काँग्रेसको भविष्यप्रति चिन्ता गर्न आग्रह गर्नुभयो । उहाँले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन नभएकाले जनताले खोजेको प्रतिनिधिलाई संसदीय दलमा जिताउन आग्रह गर्नुभयो । उहाँले संसदीय दलको नेताको चुनाव कांग्रेसको भविष्य र अपेक्षासँग जोडिएको बताउनु भयो । महामन्त्री थापाले नेपाली काँग्रेसको नेतृत्वको सरकारबाट जनताले सुशासनको अपेक्षा गरेको बताउनुभयो ।


महामन्त्री थापाको संसदीय दलको नेताका लागि प्रस्तावकमा डा. शेखर कोइराला रहनुभएको छ भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ हुनुहुन्छ । संसदीय दलको निर्वाचन बुधवार बिहान ८ बजेबाट १० बजेसम्म हुने छ । ईमेज खबर बाट
