बैतडी शिक्षक हत्या प्रकरण: आरोपित श्रीमान–श्रीमती सार्वजनीक


बैतडी: बैतडीको पाटन नगरपालिका ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टकाे हत्यामा संलग्न रहेकाे भन्दै प्रहरीले दुईजनालाई सावर्जनिक गरेकाे छ ।


जिल्ला प्रहरी कार्यालयमा गरिएकाे पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्यामा संलग्न रहेकाे आराेपमा पुचाैडी नगरपालिका ३ का प्रजा बाेहरा र उनकी श्रीमती बिमला बाेहरालाई सार्वजनिक गरेकाे हाे ।
सुर्नया गाउँपालिका २ घर भएका ५५ वर्षीय शिक्षक पुस २ गते श्रीकृष्णमाविकाे छात्रावास पछाडी मृत भेट्टिएका थिए ।
प्रहरीले सार्वजनिक गरेका श्रीमान- श्रीमतीले आफूहरूले हत्या गरेकाे स्वीकारेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिनुभयाे ।
श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो बर्षमा अध्ययन गरिरहेकी बिमला छात्रावासमा बस्दै आएकी थिईन। उनका श्रीमान पनि भेटघाटका लागि पाटन पुगेर छात्राबासमै बसेका थिए ।
छात्राबासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पाैने १० बजे शाैचालय गएकी बिमलालाई अंगालाे हाली दुर्ववहार गरेकाे श्रीमान प्रजाले देखेका थिए । त्यसपछि आक्राेशित भएका प्रजाले विष्टकाे छाती,मुखमा हिर्काउदै छात्रावास बाहिर ल्याएका थिए । त्यसपछि विष्टकाे पुर्पुराेमा ठाेस बस्तु हिर्काउदै हत्या गरेकाे प्रजाले प्रहरीसमक्ष बयान दिएका छन् ।
विष्टकाे मृत्यु भएपश्चात शवलाई लुकाउन प्रजा र बिमला दुबै जनाले बाेकेर नजिकै रहेकाे केत्तुकेकाे झारीमा फालेका थिए ।
उनीहरू दुबैजनाबिरूद्ध बैतडी जिल्ला अदालत कर्तव्य ज्यान मुद्दामा १० दिनकाे म्याद थपेर अनुसन्धान कार्य जारी रहेकाे बैतडी प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयाे ।
यसअघि हत्यामा संलग्न सार्जनिक माग गर्दै विभिन्न आन्दाेलन तथा शव नबुझेका आफन्तले आन्दाेलनका सबै कार्यक्रम फिर्ता गर्दै शव पनि बुझेका छन् ।


