बैतडीमा शिक्षक बिष्टको हत्याका अभियुक्त सार्वजनिक


बैतडी: जिल्लाको पाटन नगरपालिका ०६ मा स्थित कृष्ण मा.वि.का शिक्षक बिष्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरिएका छन् ।आज जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गर्दै बिहीबार हत्याका अभियुक्त सार्वजनिक गरेको हो ।


हत्या अभियोगमा पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका ३ न्वादेउ घर भएकाकी बिमला बोहरा र उनका श्रीमान प्रजा बोहरा छन् ।बिमला बोहोरा कृष्ण माध्यमिक विद्यालयमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन।



विष्टको मृत्यु भएपछि लडेको देखाउने उद्देश्यले शव क्याम्पसको होस्टेल ( छात्रावास )नजिकै फालेको उनीहरुले स्वीकार गरेका छन्। अभियुक्त युवती कृष्ण मा.वि.मा कम्प्युटर डिप्लोमा चौथो सेमेस्टरमा अध्ययन गर्दै आएको बुझिएको छ ।


पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार ‘पौष १ गते साँझको समयमा बिमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरेको हो ।’
घटनाका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको छ। जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको शाहि ले बताए । घटनामा अरु संलग्नताका बिषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

शिक्षक विष्टको पुष २ गते छात्रावास पछाडि करिब ३० मिटर तल शव फेला परेको थियो। मादक पदार्थ सेवन गरी लडेर उनको मुत्यृ भएको अनुमान गरिएको थियो। तर उनका परिवार लगायत शिक्षक, विद्यार्थीहरूले हत्याको आशंका गरी आन्दोलनमा उत्रि अनुसन्धानको माग गरेका थिए ।


