टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने

काठमाडाैं:  नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने भएको छ ।

क्यानबाट प्रतियोगिता सन्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा नगरेका कारण प्रतियोगिता पूर्वनिर्धारित मितिमा आयोजना नहुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

यो मितिमा पनि प्रतियोगिता आयोजना हुन नसके सञ्चालन अधिकार पाएको कम्पनीसँग सम्झौता रद्ध गरी क्यान आफैंले प्रतियोगिता आयोजना गर्नेसमेत अध्यक्ष चन्दको भनाइ छ ।

६ फ्रेन्चाइज टिमको सहभागितामा हुन लागेको प्रतियोगिता सरेको यो तेस्रोपल्ट हो । क्यानले प्रतियोगिता सञ्चालनका लागि सेभेन थ्री स्पोर्टससँग २०७७ सालमै सम्झौता गरेको थियो ।

यसबीचमा अघिल्लो वर्ष खेलाडी अक्सन भए पनि प्रतियोगिता अनिश्चित हुँदै आएको थियो । नेपाल टी–२० लिगको आयोजना सन्दर्भमा क्यानको सुरुदेखि कै निर्णयहरु विवादित बनिरहेका छन् ।

भारतीय कम्पनीसँग उतैको कानूनअनुसार सम्झौता भएकोमा क्यानकै कार्यसमितिबाट विरोध हुँदै आएको थियो । यो प्रतियोगिता असोज ८ गतेदेखि सुरु हुने भनिएको थियो । त्यसका लागि नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट एक महिना अगाडि नै आयोजना गरिएको थियो ।

सरकारले सुरक्षा दिन नसक्ने बताएको भन्दै प्रतियोगिता सारिएको थियो । सारेर मंसिर २५ गतेदेखि प्रतियोगिता मिति निर्धारित गरियो । तर, सहभागी फ्रेन्चाइज टिम काठमाडौं गोर्खाजले अन्तिम समयमा नाम फिर्ता लिएपछि प्रतियोगिता १२ दिनका लागि सारिएको थियो ।

Loading...