कविता- विद्यार्थी जीवन


अभावै अभावको चाङमा पनि हिम्मत नहार्नु कहिल्यै,
भावी जीवन निर्माण गर्ने यो एक बलियो आधार रहेको छ।


मान्छेलाई मान्छे झैँ बन्न सिकाउने विद्यालय, यही त हो
कलिला विचारहरू बहने बलेँसीको आश्रय, यही त हो
थाक्नु हुँदैन अहिल्यै, छ जीवनको कतिधेरै सफर बाँकी
उज्ज्वल भविष्यको गति निर्धारण गर्ने समय, यही त हो!



सधैँ संघर्ष गरेर अनुशासनको बीउ छर्न सिकायो
नराम्रो कुरा मनबाटै पोखेर राम्रो मात्रै भर्न सिकायो
कति सुनौलो अनि सुन्दर छ यो विद्यार्थी जीवन


महङ्गो बनाउने कि! सस्तो बनाउने विद्यार्थी जीवनमा नै हो
आफूले सोचेको जस्तो बनाउने विद्यार्थी जीवनमा नै हो।
शिक्षा विनाको मानिस भए नि सफल, असफल जस्तै हुन्छ
आफ्नो जिवन कस्तो बनाउने विद्यार्थी जीवनमा नै हो।
पाठशाला ,गुरु अनि आफैँ स्वयमको कारण हुन्छ
जस्तो सूर्य उदाउँदा लोकमा प्रकाश प्रसारण हुन्छ
विद्यार्थी जीवनमा गरेका परिश्रम अनि मेहनतले
भोलि गएर विद्यार्थीहरूको भविष्य निर्धारण हुन्छ

पढ्ने लेख्ने हास्ने रमाउने बेला यहीँ हाे
जीवन कुन रङ्गले सजाउने बेला यहीँ हाे
राम्रो गरे चम्किन्छाैँ नगरे जलेर सकिन्छाैँ
आफ्नो जीवन कस्तो बनाउने बेला यहीँ हाे
न यस्तो तनाव थियो, न मनमा यस्तो जलन थियो!
सम्झिन्छु अचेल, खुसीले कति प्रफुल्ल मन थियो!!
सँगै पढ्थ्यौं,सँगै खेल्थ्यौ आफू सँगैका साथी सङ्गी हुन्थे,
कुनैबेला मेरो पनि कति रमाइलो विद्यार्थी जीवन थियो!!
पढ्न एकरत्ति जोस जागर जागेन विद्यार्थी जीवनमा
हुन्थ्यो कुलत बानी कहिल्यै भागेन विद्यार्थी जीवनमा
अनुशासन र शिक्षाको महत्त्व सजिल्यै भुलिन्थ्यो बरु
तर सबैभन्दा ठूलो ज्ञान हो,लागेन विद्यार्थी जीवनमा।
अभ्यासमा सधैँ-सधैँ टिकिरहनु पर्छ,
जिज्ञासाको हलहरू झिकिरहनु पर्छ,
सिङ्गो जीवन नै विद्यार्थी जीवन हो
मृत्यु पर्यन्त नै केही सिकिरहनु पर्छ।
बोकेर फरक सोच,लिएर गति,पढ्नु त पर्छ
बिगार्नु हुन्न साथी उमेरमा मति,पढ्नु त पर्छ
पढाई भन्दा ठूलो कुरा अरु केही पनि छैन
जिन्दगीमा आफुले सकेजती,पढ्नु त पर्छ।
आकाश खड्का
अत्तरिया, कैलाली

