बझाङको एक गाउँ, जहाँ वर्षौदेखि दलित बस्तीमा फोहोर पानी

बझाङ: नेपालको संविधान २०७२ अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको अधिकार हुने कुरा उल्लेख छ । तर, मष्टा गाउँपालिका–१ जिन्नाडाका दलित समुदायका नागरिकले वर्षौंदेखि फोहोर पानी पिउँदै आउनुपरेको छ ।

उनीहरूले जिम्मेवार निकायलाई खानेपानीको समस्या देखाउँदै आएको वर्षौं बित्यो । तर, अहिलेसम्म सुनुवाइ हुन सकेको भने छैन ।

भट्टीदेवी आउजीलाई आफ्नो यकिन उमेर पनि थाहा छैन । बिहानै घरको काम, दिउँसो गाई वस्तुका लागि घाँस, पात अर्थात् मेलपात र चुलो चौकोमै बित्छ उनको दैनिकी । उनलाई आधा उमेर ढल्किनसम्म अरू कुनै समस्याले सताएन । मात्रै स्वच्छ खानेपानीको चिन्ताले सताइरह्यो । यो समस्या आउजीको मात्रै नभई उनका छिमेकी तथा दलित समुदायका १४ परिवार सबैको हो ।

जिन्नाडाका दलित समुदायको मुख्य समस्या खानेपानी रहेको छ । त्योसँगै बाटोघाटो, शौचालय, बिजुलीको समस्या त छँदै छ । तर, स्वच्छ पानी त त्यो समुदायमा कुनै पुस्ताले पनि खान पाएका छैनन् । जमिन हेर्ने हो भने घर भएको ठाउँभन्दा बढी जमिन छैन । हिड्नलाई अरूको खेतको डाली हुँदै जानुपर्छ । पानी पिउनलाई किरा फट्याङ्ग्राले पौडी खेलिरहने र पशु चौपायाले खाएको कुवाको पानी खानुपर्छ ।

गैरदलित समुदायमा एउटा धारा छ । उक्त धारामा छुन समेत पाइँदैन । बरु गैरदलित समुदायको धाराबाट निस्केको फोहोर पानी उनीहरूले प्रयोग गर्नुपर्ने बाध्यता छ ।

गैरदलित समुदायमा पनि एउटै धारा मात्रै छ । डाँडाबाघको पानी जो डाँडा बाघ भनेको त्यहाँको प्रचलित देउताको नाम हो । यही देउताको नामबाट खानेपानीको नाम राखिएको छ । त्यो दलित समुदायलाई भने छुन पनि बन्देज जस्तै छ ।

दलित समुदायहरू यस धारामा जाने आँट पनि गर्दैनन् । देउताको नामले राखेको यो धारामा लाग्दा परिवारमा अनिष्ठ हुने, परिवार सक्किने, पशुचौपाया मर्ने, घरमा नराम्रो तथा अनिष्ठ हुने जस्ता परम्परागत सोच, रुढीवादी परम्पराले पनि उनीहरू यो धारामा जान आनाकानी गर्छन् ।

‘हामीले डाँडाबाघको पानीसमेत छुन पाउँदैनौं,’ टोलीकी एक सदस्यले भनिन्, ‘हामीले पानी खाने कुवा बाजेकै पालाको हो । डाँडाबाघतिर हामी जानसमेत पाउँदैनौं, त्यसैमा देउताको धारो छोए त उठीबास लागिहाल्छ । त्योभन्दा फोहोर पिउनु नै बेस हाम्रा लागि ।’

पहिला आफ्ना बाबुबाजेले पनि यही पानी पिउँदै आएको उनले सुनाइन् । उनले भनिन्, ‘यो फोहोर पानीका कारण आउँ पखाला जस्ता रोगहरू लाग्छ ।’

अर्की स्थानीय मिना आग्रीले आफूहरूलाई फोहोर पानी खाने बानी नै परिसकेको बताउँछिन् । ‘खानेपानीको समस्या गाउँभरिको हो । तर, हामीले फोहोर पानी पिउनुपर्ने बाध्यता छ,’ उनले भनिन् ।

खानेपानी मात्रै होइन एक छाकको जोहो गर्न पनि उस्तै समस्या छ यहाँका दलित समुदायलाई । जिन्नाडाका दलित समुदायको पेसा सिलाइकटाइ हो । गैरदलितका लुगा, कपडा सिलाएबापत उनीहरूले नुन, तेल, चामल वा दैनिक उपभोग्यवस्तु पाउँछन् । त्यो नै उनीहरूको वार्षिक आम्दानीको मुख्य स्रोत हो ।

अहिले जिन्नाडाको दलित समुदायमा बुढापाकाबाहेक युवा उमेरका पुरुष छैनन् । सबै जना रोजगारीको खोजीमा भारत पलायन छन् । अहिले पनि जिन्नाडाका दलित समुदाय त्यहाँका गैरदलित समुदायमै आश्रित छन् । घरबाहेक उनीहरूसँग न उत्पादन गर्ने जमिन छ । न त हिंड्ने बाटो नै ।

वर्षभरि अरूको खेती गर्छन् उनीहरू । तर, एक कट्टा धान र १ सुप्पो (बोरामा एक चौथाई) गहुँबाहेक केही पाउँदैनन् । ‘गैरदलितको खेतमा गहुँ तथा धान छर्ने, गोडमेल गर्ने, काट्नेसम्म सहयोग गर्नुपर्छ । वर्षभरि लुगाकपडा सिलाउनुपर्छ । त्यसबापतको खलो (अन्न) पाउँछौं,’ मीनाले भनिन्, ‘वर्षभरि १ बोरा धानले कसरी चल्ने ?’

यो समस्या मिनाको मात्रै नभई बझाङका सबै दलितको हो । हलिया, खलिया प्रथाको अन्त्य भयो भन्छन् हाम्रा लागि कहिले लागू हुन्छ थाहा छैन,’ उनले भनिन् ।

मष्टा गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र रोकायाले खानेपानीको समस्या समाधान गर्न आफूहरू लागेको बताए । उनले भने ‘वडा नम्बर १ को जिन्नाडामा मात्रै नभई रनाडा, ठाना, लेकी, कोटदेबल, सम्देउ, मलारी सबै ठाउँमा खानेपानीको समस्या छ । यो समस्या समाधानका लागि १ करोड रुपैयाँको लागतमा खानेपानीको टेन्डर भई ठेक्का प्रक्रियामा गइसकेकोले केही दिनभित्रै काम सञ्चालन हुनेछ । तत्काल समस्या समाधानका लागि वडा कार्यालयमार्फत खानेपानी मर्मत तथा सम्भारका लागि ४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भई अब केही दिनभित्रै उक्त काम पनि सञ्चालन हुनेछ र खानेपानीको समस्या समाधान हुनेछ ।’

दलित समुदायको जीवनशैली परिवर्तनका लागि पालिकाले विभिन्न कार्यविधि निर्माण गरेर काम गरिरहेको उनले बताए ।

आजको यो खबर राजधानी दैनिकमा डिबी बिष्टले लेखेका छन ।

Loading...